बाँकेमा एकैदिन चार जना कोरोना संक्रमितको मृत्यु
नेपालगञ्ज, कात्तिक २२ : बाँकेमा उपचाररत चार जना कोरोना संक्रमितको मृत्यु भएको छ।बाँके राप्तीसोनारी गाउँपालिका-८, शम्शेरगञ्ज निवासी ४८ वर्षीयका पुरुष, कैलालीको टीकापुर नगरपालिका-१...
नेपालगञ्ज, कात्तिक २२ : बाँकेमा उपचाररत चार जना कोरोना संक्रमितको मृत्यु भएको छ।
बाँके राप्तीसोनारी गाउँपालिका-८, शम्शेरगञ्ज निवासी ४८ वर्षीयका पुरुष, कैलालीको टीकापुर नगरपालिका-१ की ५६ वर्षीया महिला, दाङको तुलसीपुर उपमहानगरपालिका-१० की २० वर्षीया महिला र तुलसीपुर-५ का ७६ वर्षीयका पुरुषको उपचारकै क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए।
उनका अनुसार, श्वास प्रश्वास प्रक्रियामा समस्या आएपछि भेरी अस्पताल नेपालगञ्जमा भर्ना भएका शम्शेरगञ्ज निवासी ४८ वर्षीय पुरुषको शुक्रवार साँझ ५ः२० बजे मृत्यु भएको हो। त्यस्तै दाङ निवासी ७६ वर्षीय पुरुषको शिक्षण अस्पताल कोहलपुरमा शुक्रबार साँझ ६ः४० बजे उपचारकै क्रममा मृत्यु भएको थियो भने कैलाली निवासी ५६ वर्षीया महिलाको शिक्षण अस्पताल कोहलपुरमै दिउँसो २ः४५ बजे र दाङ निवासी २० वर्षीया महिलाको दिउँसो ३ः२० बजे मृत्यु भएको छ।
संक्रमित बिरामीलाई रोगको प्रकृति अनुसार गरिनुपर्ने सबै प्रकारको उपचार दिँदै गर्दा समेत अवस्थामा सुधार नआएपछि कोभिड आइसीयूमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति श्रेष्ठले जानकारी दिए।
योसँगै बाँकेमा बाहिरी जिल्लाबाट आएर उपचारका क्रममा मृत्यु हुनेको संख्या २७ पुगेको छ भने बाँकेका ३५ संक्रमितको मृत्यु भइसकेको छ।











