Kathmandu Press

झापामा सशुल्क कोरोना परीक्षण गराउने बढ्दै

विर्तामोड, कात्तिक २१ : कोभिड–१९ को सङ्क्रमणको जोखिम बढेसँगै झापामा सशुल्क कोरोना परीक्षण गराउने बढेका छन्। मेची प्रादेशिक अस्पतालले सञ्चालन गरेका दुई वटा पीसीआर प्रयोगशालामा...
झापामा सशुल्क कोरोना परीक्षण गराउने बढ्दै
सांकेतिक तस्वीर।

विर्तामोड, कात्तिक २१ : कोभिड–१९ को सङ्क्रमणको जोखिम बढेसँगै झापामा सशुल्क कोरोना परीक्षण गराउने बढेका छन्। 

मेची प्रादेशिक अस्पतालले सञ्चालन गरेका दुई वटा पीसीआर प्रयोगशालामा सशुल्क कोरोना परीक्षण गराउने बढेका हुन्। अस्पतालमै रहेको पीसीआर प्रयोगशालाले एक महिना अघिदेखि नै सशुल्क परीक्षण गराउँदै आएको थियो भने कनकाईको प्रयोगशालाले गत कात्तिक ७ गतेदेखि सशुल्क परीक्षण शुरु गरेको हो।

दुवै प्रयोगशालामा गरी हालसम्ममा एक हजार ४२५ बढीले सशुल्क सेवा लिएका छन्। अस्पतालमै रहेको प्रयोगशालामा एक हजार बढी र कनकाई पीसीआर प्रयोगशालामा ४२५ बढीले सेवा लिइसकेका छन्।

“गरीब, असहाय, आइसोलेनमा रहेका, स्वास्थ्यकर्मी, प्रहरीलगायत फ्रन्ट लाइनमा काम गर्नेहरुको सरकारले निःशुल्क परीक्षण गरिरहेको छ”, मेची प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. पिताम्बर ठाकुरले भने, “निजी कामका लागि काठमाडौंलगायत अन्य ठाउँमा जाने, छिमेकीलाई कोरोना भएको कारण शंका लागेर आउनेले सशुल्क परीक्षण गर्नुहुन्छु।”
 
उनले मेचीमा दैनिक ३० देखि ४० जनाले सशुल्क सेवा लिँदै आएको बताए।  पछिल्लो समय अस्पतालमा रहेको प्रयोगशालामा भन्दा बढी कनकाई पीसीआर प्रयोगशालामा सशुल्क सेवा लिने बढी आउन थालेका छन्। कनकाई पीआर प्रयोगशालाका स्वास्थ्यकर्मी इन्द्रहरि भट्टराईका अनुसार दैनिक ५० देखि ६० जनाले सशुल्क सेवा लिइरहेका छन्। 

“रिर्पोट चाँडो चाहिएका र सिकिस्त विरामी आउँछन्”, उनले भने, “निःशुल्क गर्दा रिर्पोट ढिलो हुन्छ सशुल्क गर्दा चाडै आउँछ। त्यही भएर सशुल्क गर्नेको संख्या बढ्न थालेको छ।” स्वाब परीक्षण गरेको १२ घण्टा भित्रमा सशुल्क गराउनेको रिर्पोट दिइने गरेको उनले बताए।

उनले किट, केमिकल र रिएजेन्टको समस्या हुँदा निःशुल्क परीक्षण गराउनेको रिर्पोट ढिलो हुने गरेको बताए।  कनकाई कोभिड नियन्त्रण एवम् व्यवस्थापन समितिका सदस्य सचिव लक्ष्मी अधिकारीले विर्तामोड, शिवसतासी, अर्जुनधारा नगरपालिका र झापा गाउँपालिकाबाट यस प्रयोगशालामा परीक्षण गर्ने बढी आउने गरेको बताइन्।  

उनका अनुसार कनकाई पीसीआर प्रयोगशालामा सशुल्क सेवा लिनबाट हालसम्ममा रु आठ लाख ५० हजार सङ्कलन भइसकेको छ। सो रकमबाट नै आवश्यक किट, केमिकललगायत सामाग्री खरिद गर्ने गरिएको छ।
 

प्रकाशित मिति: २२:०९ बजे, शुक्रबार, कात्तिक २१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्