भारतीय सेनाद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण, नेपाली सेनाले दियो एक लाख मास्क
काठमाडौं, कात्तिक २० : भारत सरकारले नेपाली सेनालाई दुई वटा घुम्ती अस्पताल सञ्चालन गर्न एम्बुलेन्ससहित स्वास्थ्य सामग्री सहयोग स्वरुप उपलब्ध गराएको छ। नेपाल...
काठमाडौं, कात्तिक २० : भारत सरकारले नेपाली सेनालाई दुई वटा घुम्ती अस्पताल सञ्चालन गर्न एम्बुलेन्ससहित स्वास्थ्य सामग्री सहयोग स्वरुप उपलब्ध गराएको छ। नेपाल भ्रमणमा रहेका भारतका स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणेले सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित कार्यक्रममा ती स्वास्थ्य समाग्री प्रधानसेनापति पूर्णचन्द्र थापालाई हस्तान्तरण गरे।
नेपाल–भारत सुरक्षा सहयोग आदान–प्रदानसम्बन्धी तेह्रौँ बैठकमा भएको सहमतिअनुरुप नेपाली सेनालाई ती स्वास्थ्य सामग्री प्राप्त भएको हो। हस्तान्तरण गरिएका सामग्रीमा घुम्ती अस्पतालका सञ्चालनका लागि आवश्यक चार ठूला एम्बुलेन्स्, चार आइसीयु भेन्टिलेटर, एक्स–रे मसिन, कम्युटर रेडियोग्राफ्री प्रणाली, भिडियो इण्डोस्कोपी युनिट, एनेस्थेसीया मेसिन र प्रयोगशालासम्बन्धी उपकरण रहेको बताइएको छ।
भारतीय सेनालाई बुद्धको प्रतिमा र मास्क उपहार
सो अवसमा नेपाली सेनाले नेपालमा निर्मित कोभिड–१९ जोखिम नियन्त्रणका लागि प्रयोग हुने एक लाख थान मास्क भारतीय सैनिकलाई सहयोग स्वरुप उपलब्ध गराएको छ। उक्त मास्क प्रधानसेनापति थापाले भारतीय सेनाध्यक्ष नरवणेलाई हस्तान्तरण गरे।
प्रधानसेनापति थापाले भारतीय सेनाध्यक्ष नरवणेलाई समारोहमा उपहार स्वरुप शान्तिका प्रतिक गौतमबुद्धको प्रतिमा समेत प्रदान गरे। यसअघि स्थलसेनाध्यक्ष नरवणेले सैनिक मञ्च टुँडिखेलस्थित वीरस्मारकमा पुष्पहारसहित श्रद्धाञ्जलि अर्पण गर्नुुका साथै जङ्गीअड्डा परिसरमा ओखरको बिरुवा रोपेका थिए।
त्यसलगत्तै प्रधानसेनापति थापा र स्थलसेनाध्यक्ष जनरल नरवणेबीच औपचारिक भेटवार्ता भएको थियो। उक्त भेटमा दुवै सेनापतिबीच आपसी हित र पारस्परिक सम्बन्धका विविध पक्षमा छलफल भएको सेनाले जनाएको छ। उक्त छलफलपछि भारतीय सेनाध्यक्ष नरवणेलाई नेपाली सेनाको इतिहास र वर्तमान भूमिकाका बारेमा प्रस्तुतिकरण गरिएको थियो।
नेपाली सेना र भारतीय सेनाबीच एक–अर्का देशका सैनिक प्रमुखलाई मानार्थ महारथी दर्जा प्रदान गर्ने परम्पराअनुुरुप उनी नेपाली सेनाको मानार्थ महारथी ग्रहण गर्न नेपाल आएका हुन्। राष्ट्रपति विद्यादेवी भण्डारीबाट सेनापति नरवणेलाई आजै सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्नेछिन्। नेपालका तर्फबाट मानार्थ महारथी प्राप्त गर्ने भारतीय स्थलसेनाध्यक्ष जनरल नरवणे १८औँ सेनापति हुन्।











