Kathmandu Press

तिहारमा देउसीभैलो खेल्न प्रतिबन्ध

तिहारमा देउसीभैलो खेल्न प्रतिबन्ध

तनहुँ, कात्तिक २० : जिल्ला प्रशासन कार्यालय, तनहुँले यसवर्षको तिहारमा देउसीभैलो खेल्न प्रतिबन्ध लगाएको छ।

कोभिड–१९ लाई मध्यनजर गर्दै यस वर्षको तिहारमा देउसीभैलो खेल्नमा रोक लगाइएको हो। तिहारको समयमा पूर्णरूपमा देउसीभैलो खेल्न निषेध गरिएको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले बताए।

जिल्ला कोरोना नियन्त्रण समितिको बैठकले रोक लगाउने निर्णय गरेको हो। यदि कसैले अटेर गरी देउसीभैलो खेलेको पाइएमा कानूनी कारबाही गरिनेछ, प्रजिअ आचार्यले भने।

पछिल्लो समय कोरोना समुदायमा समेत फैलँदै गइरहेको अवस्थामा आफू सुरक्षित रही अरुलाई पनि सुरक्षित बनाउन मानिसको चहलपहलमा न्यूनीकरण गर्न लागिएको जनाएको छ।

स्वास्थ्य सुरक्षाको उचित प्रबन्ध मिलाएर आफ्नै घरभित्र रहेर चाडपर्व मनाउन जिल्लावासीलाई आग्रह गरिएको उनले बताए। सकभर घरदेखि बाहिर ननिस्कने र निस्कनै पर्ने अवस्था आए अनिवार्यरूपमा मास्क लगाएर मात्रै निस्कन स्थानीय प्रशासनले आग्रह गरेको छ।

यससँगै तिहार नजिकिँदै गर्दा तनहुँ प्रहरीले सुरक्षा व्यवस्थालाई कडा बनाएको छ। दीपावलीको समयमा भित्रिन सक्ने पटका तथा विष्फोटक पदार्थलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्थालाई कडाइ पारिएको हो।

विष्फोटकजन्य पदार्थ भित्रिन सक्ने सम्भावित नाकामा सुरक्षा व्यवस्था सुदृढ बनाइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक अरुण पौडेलले बताए। सवारी चेकजाँच कार्यलाई कडाइ पार्न थालिएको छ”, उनले भने। (रासस)

प्रकाशित मिति: १७:०४ बजे, बिहीबार, कात्तिक २०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्