गणेशमान अध्ययन प्रतिष्ठानले निःशुल्क औषधि र चिकित्सकीय परामर्श दिने
काठमाडौं, कात्तिक १९ : गणेशमान सिंह अध्ययन प्रतिष्ठानले कोरोना बिरामीको उपचारका लागि निःशुल्क औषधि र चिकित्सकीय परामर्श दिने भएको छ।प्रतिष्ठानले लौहपुरुष गणेशमान सिंहको...
काठमाडौं, कात्तिक १९ : गणेशमान सिंह अध्ययन प्रतिष्ठानले कोरोना बिरामीको उपचारका लागि निःशुल्क औषधि र चिकित्सकीय परामर्श दिने भएको छ।
प्रतिष्ठानले लौहपुरुष गणेशमान सिंहको १०६ औँ जन्मजयन्तीका अवसरमा कात्तिक २४ गते काठमाडौं क्षेत्र नम्बर ८ का जनतालाई निःशुल्क स्वास्थ्य सामाग्री र चिकित्सकीय परामर्श दिने भएको हो।
बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रतिष्ठानका अध्यक्ष नवीन्द्रराज जोशीले कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले झण्डै ३० अर्ब खर्च गरे पनि जनचेतना, परीक्षण, कन्ट्याक्ट ट्रेसिङ, आइसोलेशन केन्द्र निर्माण र अस्पताल व्यवस्थापनमा उल्लेख्य काम गर्न नसकेको आरोप लगाए।
प्रतिष्ठानले सबै निर्वाचित जनप्रतिनिधिलाई कोरोना नियन्त्रणका लागि जिम्मेवार बन्न आग्रहसमेत गरेको छ। काठमाडौं क्षेत्र नम्बर ८ का कोरोना सङ्क्रमित बिरामीलाई कोभिडसम्बन्धी सल्लाह र सुझाव उपलब्ध गराउन टेलिसेन्टर सञ्चालन गर्ने र त्यसमा डा भूपेन्द्र बस्नेत र डा रवीन्द्र पाण्डेको समूह रहने जनाइएको छ।
कोभिड–१९ को सङ्क्रमितका लागि अक्सिमिटर वितरण, आइसोलेशनको रेकर्ड र एम्बुलेन्स प्रयोगका लागि सहजीकरण गर्नेसमेत प्रतिष्ठानले जनाएको छ।











