कारागारका कैदीमा कोरोना देखिएपछि चितवनमा उच्च सतर्कता

भरतपुर, कात्तिक १९ : चितवनको भरतपुरस्थित कारागारमा एक जना कैदीमा कोरोना संक्रमण पुष्टि भएपछि उच्च सतर्कता अपनाइएको छ।
कारागार कार्यालय पोखराबाट असोज २७ गते स्थानान्तरण गरिएका एक जना कैदीमा कोरोना संक्रमण पुष्टि भएको कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेले जानकारी दिए। उनका अनुसार कर्तव्य ज्यान मुद्दामा कैदी जीवन बिताउँदै आएका गोरखा खोप्लाङ्का ७२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो। कात्तिक १४ गते कोरोना संक्रमण पुष्टि भएपछि उनलाई भरतपुर अस्पतालको आइसोलेसन कक्षमा राखेर उपचार भइरहेको छ।
प्रमुख काफ्लेले भने,“पोखराबाट ल्याउँदा उनको पीसीआर रिपोर्ट नेगेटिभ थियो। उपचारका क्रममा क्यान्सर अस्पतालमा कोरोना संक्रमण पुष्टि भएको छ।” कैदीमा कोरोना संक्रमण देखिएसँगै कारागारमा उच्च सतर्कता अपनाइएको छ। सामान्य रुघा खोकी आएकालाई छुट्टै क्वारेन्टिन निर्माण गरी राखिएको छ। अहिले ४६ जना क्वारेन्टिनमा रहेको उनले जानकारी दिए।
कारागारमा ७ सय ९५ जना कैदीबन्दी छन्। क्षमताभन्दा बढी कैदीबन्दी भएकाले कोरोना फैलन सक्ने त्रास बढेको उनको भनाइ छ। कोरोना संक्रमणको जोखिम बढेसँगै अस्पतालमा उपचारका लागि पठाइएका कैदीबन्दीलाई समेत क्वारेन्टिनमा राखेर स्वाब परीक्षण गर्दै आएको उनले जानकारी दिए।
कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखेर कैदीबन्दीका आफन्तलाई भेटघाट गर्न बन्द गराइएको छ। दुई सय ५५ पुरुष र २५ महिला कैदीबन्दी राख्न सक्ने क्षमताका सो कारागारमा अहिले ६ सय ३७ पुरुष र ५८ महिला कैदीबन्दी रहेका छन्। उनीहरुसँगै तीन जना आश्रित बालबालिका समेत छन्। रासस











