एक्सन एडले सरकारलाई दियो डेढ करोड रूपैयाँ बराबरको पीपीई
काठमाडौं, कात्तिक १८ : एक्सन एड नेपालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई कोभिड–१९ को संक्रमितको उपचारका लागि आवश्यक नौ हजार ४५७ थान व्यक्तिगत सुरक्षा...
काठमाडौं, कात्तिक १८ : एक्सन एड नेपालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई कोभिड–१९ को संक्रमितको उपचारका लागि आवश्यक नौ हजार ४५७ थान व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) उपलब्ध गराएको छ।
मन्त्रालयमा मंगलबार आयोजित कार्यक्रममा स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई एक्सनएड नेपालकी कार्यकारी निर्देशक सुजिता माथेमाले नौ हजार ४५७ थान पिपिई सामग्री हस्तान्तरण गरेकी हुन्। पिपिई एक करोड ६२ लाख ४३ हजार ३४३ रूपैयाँ बराबरको रहेको छ।
कार्यक्रममा स्वास्थ्य सचिव लक्ष्मण अर्यालले कोरोना संक्रमणको दर बढिरहेको बेलामा प्रदान गरिएको सामग्रीले कोभिड–१९ का सङ्क्रमित पहिचान तथा उपचारमा खटिने स्वास्थ्यकर्मीलाई सङ्क्रमणबाट जोगाउन महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले पिपिईलाई मन्त्रालयले आवश्यकता रहेर वितरण गर्ने समेत जानकारी दिए।
चार हजार थान मन्त्रालयले आवश्यकताअनुसार वितरण गर्ने र बाँकी रहेको पाँच हजार ४५७ थान यस संस्थाले काम गरिरहेको काठमाडौं, ललितपुर, भक्तपुर, बर्दिया, बाजुरा, डोटी र सिरहा जिल्लामा रहेका साझेदार संस्था तथा स्थानीयतहमार्फत स्थानीय स्वास्थ्य सस्थाका स्वास्थ्यकर्मीलाई वितरण गरिने छ।
कार्यक्रममा समाज कल्याण परिषद्का उपाध्यक्ष डा पदमप्रसाद खतिवडाले गैरसरकारी संस्थालाई कोभिड लक्षित कार्यक्रम बनाउनको लागि अनुरोध गरिएको बताए। एक्सनएड नेपालको कार्यकारी निर्देशक सुजिता माथेमाले व्यक्तिगत सुरक्षा सामग्रीले स्वास्थ्यकर्मीलाई सुरक्षितरुपमा सेवा दिनका लागि सहयोग पुग्ने बताएकी थिइन्।











