Kathmandu Press

२० अर्ब बराबरको विकास ऋणपत्र बिक्री गर्दै केन्द्रीय बैंक

काठमाडौं, कात्तिक १७ : नेपाल राष्ट्र बैंकले यही कात्तिक १९ गते २० अर्ब रुपैयाँ बराबरको ‘विकास ऋणपत्र २०८७ घ’ बिक्री गर्ने भएको छ।नेपाल...
२० अर्ब बराबरको विकास ऋणपत्र बिक्री गर्दै केन्द्रीय बैंक

काठमाडौं, कात्तिक १७ : नेपाल राष्ट्र बैंकले यही कात्तिक १९ गते २० अर्ब रुपैयाँ बराबरको ‘विकास ऋणपत्र २०८७ घ’ बिक्री गर्ने भएको छ।

नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकले बोलकबोल प्रक्रियाबाट उक्त ऋणपत्र बिक्री गर्न लागेको हो। व्याजदरसमेत बोलकबोल प्रक्रियाबाट निर्धारण हुने केन्द्रीय बैंकले आज जारी गरेको सूचनामा उल्लेख छ।

बैंक तथा वित्तीय संस्था, गैर बैंक, वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले समेत उक्त ऋणपत्र खरिद गर्न सक्नेछन्। उक्त ऋणपत्र धितो राखी कर्जा लिन वा दिन पाइनेछ। ऋणपत्रको ब्याज भुक्तानी अर्धवार्षिकरुपमा हुने र आर्जित व्याजमा समेत व्याजकर लाग्ने सूचनामा उल्लेख छ।

इच्छुक खरिदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धीका रुपमा सहभागी हुनसक्नेछ भने प्रतिस्पर्धी र अप्रतिस्पर्धीबीच बोलकबोल प्रक्रियामा क्रमशः ८५ र १५ प्रतिशत गरी छुट्याइएको छ। प्रतिस्पर्धीलाई १७ अर्ब रुपैयाँ र अप्रतिस्पर्धीलाई तीन अर्ब रुपैयाँ छुट्याइएको छ।

घटीमा ५० हजार रुपैयाँ र बढीमा कूल निष्काशित रकमको सीमामा नबढाइ ५० हजार रुपैयाँले भाग गर्दा निशेषः भाग जाने अङ्कमा खरिद गर्न पाउने सीमा निर्धारण गरिएको छ। केन्द्रीय बैंकबाट इजाजत प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले प्रतिस्पर्धीका रुपमा सहभागी हुन पाउनेछन्।

इच्छुक बोलकबोलवालाले बहुव्याजदरमा समेत बोल गर्नसक्ने व्यवस्था गरिएको छ। ऋणपत्रको कारोवार दोस्रो बजार कारोवारमार्फत नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमार्फत हुनेछ।

प्रकाशित मिति: २२:३६ बजे, सोमबार, कात्तिक १७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्