Kathmandu Press

कान्तिबाललाई काठमाडौँ महानगरपालिकाद्वारा पीसीआर मेसिन प्रदान

काठमाडौं, कात्तिक १७ : काठमाडौँ महानगरपालिकाले कान्ति बाल अस्पताललाई एक थान पीसीआर मेसिन हस्तान्तरण गरेको छ। काठमाडौं महानगरपालिकासँग भगिनी सम्वन्ध स्थापित चीनको नानजिङ...
कान्तिबाललाई काठमाडौँ महानगरपालिकाद्वारा पीसीआर मेसिन प्रदान

काठमाडौं, कात्तिक १७ : काठमाडौँ महानगरपालिकाले कान्ति बाल अस्पताललाई एक थान पीसीआर मेसिन हस्तान्तरण गरेको छ। काठमाडौं महानगरपालिकासँग भगिनी सम्वन्ध स्थापित चीनको नानजिङ सहरले दिएका दुईमध्ये एक थान पीसीआर मेसिन कान्ति बाल अस्पताललाई आज हस्तान्तरण गरेको हो।

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको उपस्थितिमा प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली र अस्पतालका तर्फबाट निर्देशक डाक्टर कृष्ण पौडेलले सम्झौतापत्रमा हस्ताक्षर गरी सो मेसिन हस्तान्तरण गरिएको हो। करीब १६ लाख रुपैयाँ पर्ने सो मेसिन हस्तान्तरणपछि सम्वोधन गर्दै प्रमुख शाक्यले जति सक्दो छिटो मेसिन जडान गरी सेवा सुरु गर्न अस्पताललाई आग्रह गरे। ‘भगिनी सम्वन्ध स्थापित भएका विभिन्न नगरहरुले काठमाडौँ महानगरपालिकालाई कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि दिएका केही अत्यावश्यक स्वास्थ्य सामाग्री चरणबद्ध रुपमा हामीले सरकारी अस्पतालहरुलाई हस्तान्तरण गर्दै आएका छौँ,’ शाक्यले भने, ‘सेवा कस्ले दिने भन्दा पनि सबैले मिलेर सेवा दिनुपर्छ भन्ने मान्यताका साथ हामीले यस्ता अत्यावश्यक सामग्री विरामीको बढी चाप रहेका अस्पतालहरुलाई हस्तान्तरण गर्दै आएका छौँ। यो तेस्रो चरणको हस्तान्तरण कार्यक्रम हो।’ 

शाक्यले यस अघि पनि काठमाडौं महानगरपालिकाले थापाथली स्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा कोरोना (कोभिड १९) को परीक्षणका लागि पीसीआर मेसिनसहितका अत्यावश्यक सामग्री हस्तान्तरण गरेको जानकारी दिए। अहिले सो अस्पतालले त्यहाँ उपचाररत बिरामीलाई त्यहि मेसिनबाट सेवा दिइरहेको छ। ‘कान्ति बाल अस्पताललाई पीसीआर मेसिन हस्तान्तरण गरेको यो प्रारम्भिक चरण हो,’ उनले भने, ‘तपाईँहरुले त्यहाँ उपचाररत बालबालिकालाई राम्रो सेवा दिनुहोस्। काठमाडौँ महानगरपालिका थप सहयोग गर्न तयार छौँ।’ 

शाक्यले काठमाडौँ महानगरपालिकाले स्वास्थ्यका क्षेत्रमा यस अघि पनि धेरै काम गर्दै आएको जानकारी दिए। ‘यस अघि पनि हामीले कान्तिबाल अस्पताललाई अक्शिजन प्लान्ट राख्न आर्थिक सहयोग गरेका छौँ,’ उनले भने।

कार्यक्रममा बोल्दै कान्तिबालका निर्देशक डाक्टर पौडेलले महामारीविरुद्धको लडाईँ लडिरहेका बेला काठमाठौँ महानगरपालिकाले गरेको यो ठूलो सहयोग भएको बताए। ‘हामी अहिले कोभिडविरुद्धको लडाईँमा छौँ,’ उनले भने, ‘यस्तो बेलामा काठमाडौँ महानगरपालिकाले निकै ठूलो सहयोग गरेको छ। अब एक हप्ता भित्रमा हामी सेवा सुरु गर्ने छौँ।’
 
पौडेलले अहिले पनि दैनिक २० देखि ३० जनासम्मको परीक्षणका लागि नमूना अन्य ल्याबमा पठाउनु पर्ने बाध्यता रहेको भन्दै अब अस्पतालमै मेसिन जोडेपछि त्यो समस्या हट्ने बताए। ‘अहिलेसम्म कान्ति बालमा ३२ जना बालबालिकालाई कोरोना पोजेटिभ देखिएको छ।’

काठमाडौं महानगरपालिकाले गत साउन १९ गते चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल र परोपकार प्रसुति तथा स्त्री रोग अस्पताललाई कोभिड – १९ परीक्षणका गर्ने मेसिनसहित अत्यावश्यक स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको थियो। भगिनी सम्वन्ध स्थापित जनवादी गणतन्त्र चीनको तिब्बत स्वशाशित क्षेत्रमा रहेको ल्हासा नगरले महानगरपालिकालाई अनुदान स्वरुप दिएका सामाग्रीमध्ये केही सामाग्री ती दुई अस्पताललाई हस्तान्तरण गरेको थियो।
  
त्यतिबेला पनि महानगरपालिकाले वीर अस्पताललाई स्वचालित न्युक्लेइक एसिड एट्राक्सन मेसिन १ थान, न्युक्लेइक एसिड एट्राक्सन रिएजेन्ट ३००० थान, भिटिएम १५ सय थान, आरडिटी १५ सय थान र पर्सनल प्रोटेक्टिभ इक्युप्मेन्ट ९पिपिइ० ५ सय थान हस्तान्तरण गरेको थियो। 
 
त्यसैगरी प्रसुति तथा स्त्री रोग अस्पताललाई पीसीआर मेसिन एक थान, भिटिएम १५ सय थान, आरडिटी १५ सय थान र पिपिइ ५ सय थान हस्तान्तरण गरेको थियो।

प्रकाशित मिति: १९:१५ बजे, सोमबार, कात्तिक १७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्