Kathmandu Press

कोरोना संक्रमितको लागि १०४ श्यैयामा अक्सिजन पाइप जडान

पोखरा, कात्तिक १७ : कोभिड– १९ का कारण श्वासप्रश्वासमा समस्या देखिएका बिरामीको उपचारका लागि पोखरा महानगरपालिकाले दुई अस्पतालमा अक्सिजन पाइप जडान गर्ने भएको...
कोरोना संक्रमितको लागि १०४ श्यैयामा अक्सिजन पाइप जडान

पोखरा, कात्तिक १७ : कोभिड– १९ का कारण श्वासप्रश्वासमा समस्या देखिएका बिरामीको उपचारका लागि पोखरा महानगरपालिकाले दुई अस्पतालमा अक्सिजन पाइप जडान गर्ने भएको छ। 

पोखरामा दिनप्रतिदिन संक्रमितको संख्या बढेसँगै जटिल समस्या भएकाको सहज उपचारका लागि महानगरले पूर्वाधार र कर्मचारी व्यवस्थापनका लागि रु १९ लाख बजेट छुट्याएर काम अगाडि बढाएको महानगरमा उपप्रमुख मञ्जु गुरुङले जानकारी दिइन्। ‘हामीले तत्कालको विषम् अवस्थालाई ध्यान दिएर १०४ श्यैयाका लागि अक्सिजन पाइप जडान गरेर सङ्क्रमितको उपचारका लागि प्रयास थालेका हौँ,’ उनले भनिन्। उपप्रमुख गुरुङका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ७० श्यैया र लेखनाथस्थित संक्रामक रोग अस्पतालमा ३४ श्यैयाका लागि अक्सिजन पाइप जडान गर्ने काम भइरहेको छ। 

उनले अक्सिजन पाइप जडानका लागि १० लाख रुपैयाँ र सो सञ्चालनका लागि आवश्यक दक्षजनशक्ति परिपूर्ति गर्न तत्काल नौ लाख रुपैयाँ गरी कूल १९ लाख रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिइन्।

प्रतिष्ठानका निर्देशक अर्जुन आचार्यले अक्सिजनपाइप जडानले कोरोना संक्रमितको उपचारमा सहज हुने बताए। उनलेभने, ‘संक्रमितको संख्या बढिरहेको छ, उपचारका लागि आवश्यक पूर्वाधारको अभाव पनि उत्तिकै रहेको छ, कोरोनाका कारण श्वासप्रश्वासमा समस्या भएका बिरामीको तत्काल उपचारका लागि अक्सिजन पाइपले निकै सहज हुनेछ।’ महानगरको सहयोगमा अहिले ७४ श्यैयामा अक्सिजन पाइप जडान गर्ने कार्य भइरहेको र यसै हप्ता तयार हुने पनि उनले बताए।

हालसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या सात हजार ७४० पुगेको छ। तीमध्ये चार हजार ३३५ जना उपचारपछि निको भएर घर फर्किएका छन् भने ८० जनाको मृत्यु भइसकेको छ।

प्रकाशित मिति: १९:०३ बजे, सोमबार, कात्तिक १७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्