Kathmandu Press

यो वर्ष तिहारमा भारतबाट फूल नल्याइने

काठमाडौं, कात्तिक १५ : बजारमा सयपत्री फूलको मागमा कमी र स्वदेशी उत्पादन राम्रो रहेकाले यस वर्षको तिहारमा छिमेकी मुलुक भारतबाट फूल आयात नहुने...
यो वर्ष तिहारमा भारतबाट फूल नल्याइने

काठमाडौं, कात्तिक १५ : बजारमा सयपत्री फूलको मागमा कमी र स्वदेशी उत्पादन राम्रो रहेकाले यस वर्षको तिहारमा छिमेकी मुलुक भारतबाट फूल आयात नहुने भएको छ। गत वर्ष तिहारमा २५ लाख सयपत्री माला खपत भएको थियो। यस वर्ष भने बजारमा १५ लाख मात्र मालाको माग छ। मागअनुरुप उत्पादन भएकाले आयातित फूलको आवश्यक नहुने बताइएको छ। 

तिहारमा प्रयोग हुने सयपत्री, मखमली र गोदावरी फूलमध्ये सयपत्री मात्रै भारतबाट ल्याउने गरिएको थियो। गत वर्षको तिहारमा २५ लाख माला खपत हुँदा तीन लाख माला भारतबाट ल्याइएको थियो। 

विश्वभरि फैलिएको कोरोना भाइरसका कारण यसअघि फूलले बजार नपाए पनि तिहारमा भने स्वदेशी उत्पादनले नै धान्ने छ। स्थानीय फूल फुलिरहेका छन् ती सबै फूल तिहारका लागि प्रयोग हुन्छ। व्यवसायीहरुले यस वर्षको पात्रो हेरेर व्यावसायिकरूपमा फूल लगाएका हुनाले उत्पादन राम्रो रहेको फ्लोरीकल्चर एशोसिएशनका अध्यक्ष कुमार कसजू श्रेष्ठले बताए।

अघिल्ला वर्षको तुलनामा यस वर्षको तिहारमा उपभोक्ताले केही बढी मूल्य तिर्नुपर्छ। एउटा सयपत्री मालाको मूल्य ६० देखि ७० रुपैयाँसम्म तिर्नुपर्ने देखिन्छ। गत वर्ष ५० देखि ६० रुपैयाँ बढी मूल्यमा माला किन्नुपर्ने अवस्था नभएको एशोसिएशनलेका अध्यक्ष श्रेष्ठले बताए। प्रत्येक वर्ष १० देखि १५ प्रतिशत स्वदेशी फूल उत्पादनमा वृद्धि हुने गरको छ। 

विगतका वर्षमा तिहारमा मात्रै १५ करोड रुपैयाँ फूलको कारोबार हुने गरेको थियो। श्रेष्ठले भने, ‘यस वर्ष भने बजारमा माग कमी भएकाले कारोवारमा केही कमी हुन्छ।’ अहिले स्वदेशमै ९५ प्रतिशत फूल उत्पादन हुन थालेकाले पाँच प्रतिशत मात्र भारतबाट ल्याउनुपर्ने बाध्यता छ। यसअघिका वर्षमा करिब १० प्रतिशत फूल भारतबाट आयात गर्नुपर्ने अवस्था थियो। 

यस वर्ष समय समयमा पानी परिरहेकाले काठमाडौँ उपत्यकाका तीन जिल्लासहित तराईका केही जिल्लामा फूलको राम्रो उत्पादन भएको छ। विगतका वर्षमा जस्तै यस वर्ष पनि काठमाडौँ उपत्यकामा नै सबैभन्दा बढी ६० प्रतिशत मालाको माग छ।

प्रकाशित मिति: २१:५४ बजे, शनिबार, कात्तिक १५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्