Kathmandu Press

टर्की र ग्रिसमा भूकम्प, १७ जनाको मृत्यु, कयौं घाइते

काठमाडौं, कात्तिक १५ : टर्की र ग्रिसमा गएराति शक्तिशाली भूकम्प गएको छ। भूकम्पका कारण टर्कीमा कम्तीमा १७ जनाको मृत्यु भएको छ भने ग्रिसमा...
टर्की र ग्रिसमा भूकम्प, १७ जनाको मृत्यु, कयौं घाइते

काठमाडौं, कात्तिक १५ : टर्की र ग्रिसमा गएराति शक्तिशाली भूकम्प गएको छ। भूकम्पका कारण टर्कीमा कम्तीमा १७ जनाको मृत्यु भएको छ भने ग्रिसमा अहिलेसम्म मानवीय क्षतिको विवरण प्राप्त नभएको अधिकारीहरुले जनाएका छन्।  

टर्कीको इज्मीर शहरमा ७ म्याग्निच्युडको भूकम्प गएको र अहिले पनि खोजी तथा उद्धार कार्य भइरहेको जनाइएको छ। भूकम्पका कारण अहिलेसम्म कम्तीमा ७०९ जना घाइते भएको विवरण प्राप्त भएको टर्कीको प्रकोप तथा विपद् व्यवस्थापन कार्यालयले जनाएको छ।

भूकम्पपछि सयौँ पटक पराकम्प पनि महसुस गरिएको स्थानीय बासिन्दाले जानकारी दिएका छन्। राष्ट्रपति रेसेप टयीप एर्डोगानले टेलिभिजन मार्फत् सम्वोधन गर्दै खोजी तथा उद्धार कार्य भइरहेको र सवै जना त्यसमा सहभागी हुन वा सहयोग गर्न आह्वान गरेका छन्। उनले त्रसित नहुन, सुरक्षा र सतर्कता अप्नाउन पनि सवैलाई आग्रह गरेका छन्।

स्थानीय अधिकारीहरूका अनुसार दर्जनौ घरहरु भत्केको विवरणहरु आएको र अरु विवरण पनि आउने क्रममै रहेको उनले जानकारी दिएका छन्। अधिकारीहरुले अरु धेरै मानिसहरू पुरिएको हुनसक्ने आशामा उद्धारकर्ताहरूले खोजी कार्य गरिरहेका छन्।

अमेरिकी भूगर्भ निकायका अनुसार ७ म्याग्नीच्युडको भूकम्पको धक्का धेरै टाढा ग्रिसको राजधानी एथेन्स र टर्कीको राजधानी इस्तानबुलमा समेत महसुस गरिएको थियो ।टर्कीमा बेला बेलामा भूकम्प गइरहन्छ। सन् १९९९ मा इज्मिरमा गएको भूकम्पमा करिब १७ हजार मानिसले ज्यान गुमाएका थिए।

टर्की र ग्रिस दुवै देशमा भूकम्प गएपछि टर्कीका राष्ट्रपति एर्डोगान र ग्रिसका प्रधानमन्त्री किरियाकोस मित्सोताकिसले टेलिफोनमा कुराकानी पनि गरेका छन्। उनीहरुका बीचमा क्षतिको अवस्था, व्यवस्थापनका उपाय, सहकार्यलगायतका विषयमा केन्द्रीत रहेर कुराकानी भएको टर्कीको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

यसैबीच, अफगानिस्तानमा पनि ४.२ म्याग्नीच्युडको भूकम्प गएको छ। राजधानी काबुलको उत्तरपूर्वी क्षेत्रमा भूकम्पको केन्द्रविन्दु रहेको अधिकारीहरुले जनाएका छन्।

अफगानिस्तानमा आएको भूकम्पको कुनै मानवीय तथा भौतिक क्षतिको विवरण भने प्राप्त भइनसकेको सरकारले जनाएको छ।

प्रकाशित मिति: १८:२० बजे, शनिबार, कात्तिक १५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्