दुई महिनामा एक खर्ब ६५ अर्ब विप्रेषण भित्रियो
काठमाडौं, कात्तिक ५ : चालू आर्थिक वर्षको दोस्रो महिनासम्ममा कूल एक खर्ब ६५ अर्ब ७३ करोड रुपैयाँ विप्रेषण आप्रवाह भएको छ। गत साउनमा...
काठमाडौं, कात्तिक ५ : चालू आर्थिक वर्षको दोस्रो महिनासम्ममा कूल एक खर्ब ६५ अर्ब ७३ करोड रुपैयाँ विप्रेषण आप्रवाह भएको छ। गत साउनमा ९२ अर्ब ७० करोड रुपैयाँ विप्रेषण आप्रवाह भएको थियो।
नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालू आर्थिक वर्षको दोस्रो महिनाको आर्थिक विवरण अनुसार अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.६ प्रतिशतले घटेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह २.६ प्रतिशतले वृद्धि भई एक अर्ब ३९ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १.६ प्रतिशतले घटेको थियो।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ९९.२ प्रतिशतले घटेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ०.२ प्रतिशतले बढेको थियो। वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ८६.५ प्रतिशतले घटेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १०.३ प्रतिशतले बढेको थियो।
समीक्षा अवधिमा खुद ट्रान्सफर ४.४ प्रतिशतले वृद्धि भई एक खर्ब ८३ अर्ब ६६ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ०.५ प्रतिशतले बढेको थियो।
यस्तै गत भदौ मसान्तसम्म चालू खाता २६ अर्ब सात करोड रुपैयाँले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा चालू खाता २२ अर्ब ६९ करोड रुपैयाँले घाटामा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २० करोड ३ लाखले घाटामा रहेको चालू खाता समीक्षा अवधिमा २१ करोड ७६ लाखले बचतमा रहेको छ।
समीक्षा अवधिमा पुँजीगत ट्रान्सफरमा ३३.७ प्रतिशतले कमी आई एक अर्ब ९६ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी २३.३ प्रतिशतले वृद्धि भई दुई अर्ब ४४ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर दुई अर्ब ९६ करोड रुपैयाँ र खुद प्रत्यक्ष वैदेशिक लगानी एक अर्ब ९८ करोड रहेको थियो।
समीक्षा अवधिमा शोधनान्तर स्थिति ६७ अर्ब ६३ करोड रुपैयाँले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति आठ अर्ब ८३ करोड रुपैयाँले बचतमा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ७ करोड ८५ लाख रुपैयाँले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ५६ करोड ६२ लाखले बचतमा रहेको छ।










-1754206481.jpg)
