Kathmandu Press

भारतमा अलपत्र परेका दुई महिलाको उद्धार

काठमाडौं, कात्तिक ५ : भारतको नयाँदिल्लीमा अलपत्र परेका दुई महिलाको माइती नेपालको पहलमा उद्धार गरी धनगढी पुर्‍याइएको छ।कुवेतमा नोकरी लगाइदिने भन्दै दलालले दिल्ली...
भारतमा अलपत्र परेका दुई महिलाको उद्धार

काठमाडौं, कात्तिक ५ : भारतको नयाँदिल्लीमा अलपत्र परेका दुई महिलाको माइती नेपालको पहलमा उद्धार गरी धनगढी पुर्‍याइएको छ।

कुवेतमा नोकरी लगाइदिने भन्दै दलालले दिल्ली पुर्‍याएर अलपत्र पारेपछि मकवानपुरकी ५२ वर्षीया महिला र रौतहट माइतीघर भई भारतको बिहार घर भएकी २९ वर्षीया महिलाको उद्धार गरिएको हो। २९ वर्षीया महिलासँग दुई नाबालक छोरीसमेत छन्।

घरमा सासू, ससुरा, देवर र श्रीमानको दुर्व्यवहार झेल्दै आएकी उनी दलालको फन्दामा परेर दिल्ली पुगेको पाइएको माइती नेपाल धनगढी शाखा प्रमुख शिवनारायण चौधरीले बताए। उद्धारका लागि पीडित माइती पक्षले दिएको निवेदनपछि उनको उद्धार गरिएको जनाइएको छ।

यस्तै कुवेत जानका लागि दिल्लीमा पासपोर्ट बनाउन आउनु भन्दै दलालले दिल्ली पुर्‍याएर अलपत्र पारेकी मकवानपुरकी ५२ वर्षीया महिलाको पनि उद्धार गरिएको छ। दिल्लीमा एक नेपाली महिलाको सम्पर्कमा आएपछि उनको उद्धारको पहल गरिएको थियो। प्रलोभनमा पारी यी दुई महिलालाई दिल्ली पुर्‍याउने दलाल भने फरार भएको जनाइएको छ।

यसअघि गत असोजमा पनि माइती नेपालले दलालको फन्दामा परेर भारत जाँदै गरेकी नवलपरासीकी एक महिलाको पनि कैलालीको त्रिनगर सीमानाकाबाट उद्धार गरेको थियो। ‘दिल्लीमा रहेको दलालले महिनामा ४० हजार रुपैयाँ पाइन्छ भन्दै उतै बोलाएका रहेछन्,’ चौधरीले भने, ‘उहाँ दिल्ली जाँदै गर्दा त्रिनगरनाकाबाट उद्धार गरेका थियौँ।’

प्रकाशित मिति: १९:३४ बजे, बुधबार, कात्तिक ५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्