Kathmandu Press

एकै दिन बिके ५४० खसीबोका

काठमाडौं, कात्तिक ४ : सरकारी कम्पनी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ल्याएका खसी तथा बोका बजार मूल्यअनुसार धेरै सस्तो भएपछि एकैदिन धेरै...
एकै दिन बिके ५४० खसीबोका

काठमाडौं, कात्तिक ४ : सरकारी कम्पनी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ल्याएका खसी तथा बोका बजार मूल्यअनुसार धेरै सस्तो भएपछि एकैदिन धेरै बिक्री भएको छ। यस वर्ष बडादसैंमा एक हजार खसी तथा बोका बिक्री गर्ने तयारी रहेकामा एकै दिन (सोमबार) नै ५४० वटा बिक्री भइसकेको कम्पनीले जनाएको छ।

सोमबार आएका ६०५ खसीबोकामध्ये बाँकी भएका ६५ र आज बिहान आएका एक सय गरी १६५ खसीबोका बिहान नै बिक्री भइसकेको कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेले जानकारी दिइन्। उनका अनुसार थप २९५ खसीबोका आउने क्रममा छन्।

हेटौँडा र दाङबाट थप खसीबोका आज साँझसम्म आउने क्रममा रहेको कम्पनीले जनाएको छ। एकै दिनमा अनुमान गरेभन्दा धेरै खसीबोका बिक्री भएपछि आज अपराह्न खसीबोका बिक्री नहुने जनाइएको छ।

कोरोना भाइरस संक्रमणका कारण गत वर्षका तुलनामा यस वर्ष बिक्रीमा कमी आउने अनुमान गर्दै कम्पनीले एकएक हजार खसीबोका तथा च्याङ्ग्रा बिक्री गर्ने तयारी गरेको थियो। तिब्बतबाट च्याङ्ग्रा नआउँदा मुस्ताङमा नै महँगो भएपछि खसीबोका मात्र बिक्री गरिएको थियो।

अनुमान गरेभन्दा धेरै खसीबोका बिक्री भएपछि थप खरीदका विषयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा अपराह्न छलफल हुने कम्पनीले जनाएको छ। हेटौँडा वरपर खसीबोका सकिएको र थप खरीद गर्न नसक्ने जानकारी आएकोसमेत कम्पनीले जनाएको छ। कम्पनीले प्रतिकिलो १० रुपैयाँ छुट दिएर ५५० रुपैयाँमा खसीबोका बिक्री गरेको छ। निजी क्षेत्रका खसी व्यवसायीले प्रतिकिलो ६ सय देखि ६५० रुपैयाँसम्म बिक्री गरेका छन्।

प्रकाशित मिति: १७:४८ बजे, मंगलबार, कात्तिक ४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्