रहिनन् प्रथम संगीत महा–विद्यालयकी संरक्षक इन्दिरा श्रेष्ठ
काठमाडौं, कात्तिक २ : नेपालकै प्रथम संगीत महा–विद्यालयकी अध्यक्ष एवम् संरक्षक इन्दिरा श्रेष्ठको निधन भएको छ। कलानिधी इन्दिरा संगीत महा–विद्यालयकाे संरक्षक श्रेष्ठकाे ८१...
काठमाडौं, कात्तिक २ : नेपालकै प्रथम संगीत महा–विद्यालयकी अध्यक्ष एवम् संरक्षक इन्दिरा श्रेष्ठको निधन भएको छ। कलानिधी इन्दिरा संगीत महा–विद्यालयकाे संरक्षक श्रेष्ठकाे ८१ वर्षकाे उमेरमा गत मंगलबार काठमाडौंको बबरमहलस्थित आफ्नै निवासमा निधन भएको हो।
शैक्षिक तथा राजनीतिक रुपमा अग्रणी भूमिका निर्वाह गरेकी श्रेष्ठले २०२६ सालदेखि २०३४ सालसम्म ८ वर्ष त्रिभुवन विश्वविद्यालयको सभासद् (सिनेटर) भई विश्वविद्यालयको उन्नति र शैक्षिक विकासको लागि योगदान दिएकी थिइन्।
उनले राजनीतिक रुपमा पनि त्कालिन नेपाल महिला संगठनको प्रथम निर्वाचित सभापति भई पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका महिलाको हक, हित, अधिकारको साथै महिला विकास कार्यक्रममार्फत सामाजिक, आर्थिक तथा राजनीतिक रुपान्तरणका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन्।
उनी राज परिषद स्थायी समितिका सदस्य र राष्ट्रिय पञ्चायतको सदस्य पनि भएकी थिइन्।
संगीत कलाप्रति रुचि राख्ने श्रेष्ठले एमएस्सीसँगै शास्त्रीय संगीतमा एम.म्यूज.संगीत प्रविणसम्मको अध्ययन गरेकी छिन्। उनी रेडियो नेपालको विशिष्ट श्रेणीकी गायिका पनि थिइन्। नेपाली संगीत क्षेत्रको विकास र विस्तारको लागि उनले ललितपुरको पुल्चोकस्थित आफ्नै नीजि घर संगीत महाविद्यालयलाई दान दिएर सो महाविद्यालयको अध्यक्ष एवम् संरक्षक भएकी थिइन्।
उनले विभिन्न क्षेत्रमा पुर्याएको योगदानको लागि त्रि–शतिmपट्ट गोरखा दक्षिणबाहु, समाजसेवा पदक, ऐश्वर्य विद्या पदक, दैविप्रकोप सेवा पदक, कलानिधि लाइफ टाईम अवार्डलगायत राष्ट्रिय एवं विभिन्न दर्जनौ संघसंस्थाबाट सम्मानित पनि भएकी थिइन्।
काठमाण्डौंको झोछे टोलमा जन्मेकी श्रेष्ठको स्व. पाइलट गोपालप्रसाद श्रेष्ठसँग विवाह भई छोरा जयपाल श्रेष्ठ र छोरीहरु मन्दिरा श्रेष्ठ र बन्दना श्रेष्ठ गरी तीन सन्तान छन्।











