Kathmandu Press

दशैँ मेला र जात्रामा राेक, पूजारीले मात्रै पूजा गर्न पाउने

महोत्तरी, कात्तिक २ : दशैंका अवसरमा शक्तिपीठ र मन्दिरहरुमा मेला तथा जात्रा नलाग्ने भएका छन्। कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखेर जिल्ला प्रशासन कार्यालय,...
दशैँ मेला र जात्रामा राेक, पूजारीले मात्रै पूजा गर्न पाउने

महोत्तरी, कात्तिक २ : दशैंका अवसरमा शक्तिपीठ र मन्दिरहरुमा मेला तथा जात्रा नलाग्ने भएका छन्। कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखेर जिल्ला प्रशासन कार्यालय, महोत्तरीले मेला र जात्रामा रोक लगाएको छ।

जिल्लाको औरही नगरपालिकास्थित सोनामाई प्रसिद्ध देवी शक्तिपीठका रूपमा मानिन्छ। त्यसैगरी जलेश्वर नगरपालिकाको जलेश्वर नगर क्षेत्रभित्रका संसारी माई, राजदेवी माई र बर्दिवास नगरपालिका–४ स्थित पञ्चधुरा माई मन्दिरमा दशैँमा मेला उत्सव र बलि आयोजन हुँदै आएको छ।

यस वर्ष भने पर्वको अवसरमा हुने जमघट र भीडमा सङ्क्रमण जोखिम बढ्ने हुँदा यस्तो मेला आयोजन नगर्न निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले बताए।

जिल्लामा कोभिड–१९ सङ्क्रमण बढिरहेका बेला परेको दशैँ पर्व आ–आफ्नो घरपरिवारबीच मात्र मनाउन जिल्ला प्रशासन कार्यालयले शनिबार जारी गरेको निषेधाज्ञा आदेशमा उल्लेख छ। शक्तिपिठ र मन्दिरमा सम्बन्धित पुजारीले पर्वविशेषको विधिअनुसार नियमित पूजाआराधना मात्रै गर्न पाउने प्रजिअ कटुवालले बताए। सामूहिक बलि, मेला तथा जात्रा भने आयोजन गर्न पाइने छैन।

जिल्लामा देवी शक्तिपीठ र मन्दिरमा मात्र नभई धेरैजसो गाउँनगर बस्तीमा देवी प्रतिमा स्थापित गरेर मेला आयोजन गर्ने परम्परा छ। यसपालि त्यस्ता मेला पनि आयोजना नगर्न जिल्ला प्रशासनले आदेशमा स्पष्ट पारेको छ।

दशैँ पर्वभरि मदिरा बेचबिखन, सार्वजनिकस्थलमा सेवन गरिने काम दण्डनीय हुने आदेशमा उल्लेख छ। निषेधाज्ञाको उल्लंघन गर्नेलाई तत्काल कारबाही गरिने कार्यालयले जनाएको छ।

जिल्लामा दिनदिनै कोभिड–१९ सङ्क्रमण बढिरहेकै छ। अहिलेसम्म कोरोना संक्रमितको संख्या एक हजार ६ सय ४८ पुगेको छ। (रासस)

 

प्रकाशित मिति: १६:०३ बजे, आइतबार, कात्तिक २, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्