गरिबी अन्त्य र समृद्धि स्थापना सरकारको मुख्य ध्येय : प्रधानमन्त्री ओली
काठमाडौं, कात्तिक १ : प्रधानमन्त्री केपी शर्मा ओलीले गरिबी अन्त्य र समृद्धि स्थापना गर्ने सरकारको ध्येय रहेको बताएका छन्।अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस, २०२०...
काठमाडौं, कात्तिक १ : प्रधानमन्त्री केपी शर्मा ओलीले गरिबी अन्त्य र समृद्धि स्थापना गर्ने सरकारको ध्येय रहेको बताएका छन्।
अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस, २०२० को अवसरमा शनिबार शुभकामना सन्देश दिँदै उनले गरिबी अन्त्य र समृद्धि स्थापना गर्दै देशमा आधुनिक कृषि, औद्योगिक विकास, रोजगारी सिर्जना, उद्यमशीलता, सामाजिक सुरक्षा र अवसरको न्यायोचित वितरण गर्ने बताएका छना्।
उनले गरिबीबाट समृद्धितर्फ र जनतालाई विपन्नताबाट सम्पन्नतातर्फ लैजाने राष्ट्रिय आकांक्षा पूरा गर्न सार्थक उत्प्रेरणा मिल्ने विश्वास व्यक्त गरे। संयुक्त राष्ट्र सङ्घले सन् १९९३ देखि हरेक वर्ष अक्टोवर १७ लाई अन्तर्राष्ट्रिय गरिबी निवारण दिवसको रुपमा मनाउँदै आएको छ।
उनले गरिबी निवारण गरी समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आँकाक्षा पूरा गर्न हामी सक्रिय रहेको जानकारीसमेत दिएका छन्। “गरिबी निवारणका यी लक्ष्य हासिल गर्न सर्वसुलभ आधुनिक पूर्वाधार एवं मानव पूँजी निर्माण, उच्च र दीगो उत्पादन तथा उत्पादकत्व वृद्धि, उच्च र समतामूलक राष्ट्रिय आय निर्माण गर्न हामी योजनाबद्ध ढङ्गले अगाडि बढिरहेका छौँ”, उनले भनेका छन्, “मानव अधिकारको संरक्षण, समावेशी एवं न्यायपूर्ण समाजको निर्माण, सन्तुलित एवं दीगो विकासमा हामीले आशातीत सफलता प्राप्त गरिरहेका छौँ।”
सन्देशमा कृषि, पर्यटन, जलविद्युत्, भौगोलिक विविधता, जडिबुटी जस्ता हाम्रा तुलनात्मक लाभका क्षेत्रको समुचित विकास एवं उपयोग गर्न र जनशक्तिलाई मुलुकभित्रै पर्याप्त रोजगारी दिई नेपालीको क्षमताको सदुपयोग गर्न अनवरत प्रयास गरिरहेको उनले सन्देशमा उल्लेख गरेका छन्।
प्रधानमन्त्री ओलीले लामो समयदेखि सञ्चालित गरिब लक्षित कार्यक्रमको प्रतिफल वास्तविक गरिबसम्म अपेक्षित रुपमा पुग्न नसकेका विगतका कमजोरीबाट पाठ सिकेर सरकारले गरिबी निवारणको आगामी बाटो तय गरेको बताएका छन्।











