काश्मिरको कस्तुरी मृग नेपालमा पनि पाइने प्रमाण भेटियो
लोपोन्मुख काश्मिरी कस्तुरी मृग नेपालमा पनि पाइने प्रमाण फेला परेको छ। भारत, पाकिस्तान र पूर्वी अफ्गानिस्तानमा पाइने दाह्रा भएको मृगको यो प्रजाति पश्चिम नेपालको पहाडमा ....
लोपोन्मुख काश्मिरी कस्तुरी मृग नेपालमा पनि पाइने प्रमाण फेला परेको छ। भारत, पाकिस्तान र पूर्वी अफ्गानिस्तानमा पाइने दाह्रा भएको मृगको यो प्रजाति पश्चिम नेपालको पहाडमा पाइने अध्ययनले देखाएको छ।
नेपाली र चिनियाँ अनुसन्धाताहरूले पश्चिममा मुस्ताङ, पूर्वमा मनाङ र अन्नपूर्ण हिमाल श्रृंखलाको दक्षिणमा अवस्थित कास्कीमा उक्त कस्तूरीको तीन वटा वंशको पहिचान र खोज गरेका छन्। सात हजार मिटरभन्दा अग्ला हिमाली क्षेत्रमा पाइएका ती प्रजाति काश्मिरी कस्तुरी मृग भएको अनुसन्धाताले पुष्टि गरेका छन्। नेपालमा पाइएको नयाँ प्रजातिको रूपमा पनि यसको अभिलेख राखिएको छ।
‘यो अध्ययनअघि यी कस्तुरी मृग काश्मिर र भारत, पाकिस्तान र पूर्वी अफ्गानिस्तानका सम्बद्ध क्षेत्रमा पाइएको थियो। पश्चिममा उत्तरपूर्वी अफ्गानिस्तानको नुरिस्तान र पूर्वमा भारतको काश्मिरमात्र पाइने अनुमान थियो,’ अध्ययन प्रतिवेदनका लेखक पारस बिक्रम सिंहले बताए। सिंह राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र परियोजनाका संरक्षण अधिकृत हुन्। उनी चाइनिज एकेडेमी अफ साइन्सेस, बेइजिङको इन्स्टिच्युट अफ जूलोजी, कि ल्याबोरेटरी अफ एनिमल इकोलोजी एन्ड कन्जर्भेसन बायोलोजीसँग पनि आबद्ध छन्। चाइनिज एकेडेमी अफ साइन्सेस, बेइजिङका प्राध्यापक जियाङ झिगाङको सुपरीवेक्षणमा सिंहले कस्तुरी मृगको अध्ययन गरेका हुन्।
मोलिक्युलर टुल्स प्रयोग गरिएको अनुसन्धान र क्यामेरा ट्रयाप विधिले पनि मध्य नेपालको मनाङ र कास्कीमा पाइएका कस्तुरीका प्रजाति हिमाली कस्तुरी मृग भएको पुष्टि गरेको छ। ‘काश्मिरी कस्तुरी मृगको पूर्वी सीमा नेपालको अन्नपूर्ण संरक्षण क्षेत्रभित्रको मुस्ताङसम्म रहेको हाम्रो अध्ययनले पुुष्टि गरेको छ,’ सिंहले भने। अन्नपूर्ण संरक्षण क्षेत्र नेपालको पश्चिम क्षेत्रका पाँच जिल्लाहरू म्याग्दी, लम्जुङ, कास्की, मनाङ र मुस्ताङसम्म फैलिएको छ। यो देशकै ठूलो संरक्षित क्षेत्र हो।
‘भारतको उत्तरी हिमालय, पाकिस्तान र पश्चिम नेपाल (मुस्ताङभन्दा पश्चिम) भित्र पाइएका कस्तुरीका प्रजाति काश्मिरी कस्तुरी मृग नै भएको अध्ययनले देखाउँछ। यसअघि तिनीहरूलाई अल्पाइन कस्तुरी मृग भनी पहिचान गरिएको थियो,’ उनले भने।
काश्मिरी कस्तुरी मृग, हिमालय कस्तुरी मृग र अल्पाइन कस्तुरी मृग एसियाको पर्वतीय जंगल र अल्पाइन स्क्रबल्यान्ड्समा पाइने सातमध्ये तीन उस्तै प्रजातिका कस्तुरी हुन्। अन्य चारमा आन्हुइ कस्तुरी मृग, जंगली कस्तुरी मृग, कालो कस्तुरी मृग र साइबेरियन कस्तुरी मृग रहेका छन्। अनुसन्धाताहरूले हिमालय र चीनका यी साना र लजालु मृगको भौगोलिक वितरणको अनुसन्धानका लागि आह्वान गरेका छन्। योसँगै आइयुसिएनको रातो सूचीको पनि समिक्षा गर्न माग गरेका छन्।
‘बहुराष्ट्रिय सीमामा यी प्रजाति पाइने भएकाले, अन्तरसीमा संरक्षणको सम्भावना छ,’ सिंहले भने। यो प्रजाति चोरीशिकारको उच्च जोखिममा छन्। उनीहरूको गन्ध ग्रन्थीको कालो बजारमा ठूलो माग छ। कस्तुरीको गन्ध ग्रन्थीलाई अत्तर र परम्परागत औषधिमा प्रयोग गरिन्छ। वाइल्डलाइफ कन्जर्भेसन सोसाइटीले जनाएअनुसार कस्तुरी मृगका गन्ध ग्रन्थी सुनको तौलभन्दा महँगो मानिन्छ।
प्रातःकाल वा रातिमात्रै सक्रिय हुने कस्तुरी मृग प्रत्यक्ष पत्ता लगाउन कठिन छ। केही सेकेन्डमात्रै देखा पर्ने भएकाले उनीहरूको प्राकृतिक वासस्थानमा भेट्नु दुलर्भ कुरा हो। नभए भाग्दै झाँडीतिर पसेको आवाजमात्रै सुनिन्छ। भाले कस्तुरी मृगको तरबारजस्ता दाह्रा पतझडको मौसममा अन्य भालेसँग प्रतिस्पर्धा गर्न प्रयोग गरिन्छ।
कस्तुरी मृगलाई ठ्याक्कै उनीहरूको ‘ट्याक्सोनोमिक’ वर्गसम्म पहिचान गर्ने कार्य विवादित छ। चार दशकदेखि यसको समाधान भएको छैन। यिनीहरूको बाहिरी स्वरूप संरचनाबाट ठोकुवा गरेर पहिचान गर्नु निकै कठिन छ। उदाहरणका लागि, आन्हुई कस्तुरी मृग, जंगली कस्तुरी मृग र कालो कस्तुरी मृगका प्रजातिको स्वरूप र संरचनाका साथै रौंको रंग पनि उस्तै देखिने भएकाले एकअर्काबाट छुट्याउन एकदमै गाह्रो छ।
‘मौसमसँगै उनीहरूको रौंको रंग पनि फेरिन्छ। यसले उनीहरूको पहिचान गर्नलाई चुनौती खडा गर्दछ,’ सिहंले भने। उनले सन् २०१० मा अन्नपूर्ण हिमायलय क्षेत्रमा कस्तुरी मृगको वर्गिकरण गर्ने जिम्मा लिए। त्यहाँको हिमाल, नदी र घाटीले ‘जिन’को प्रवाह रोक्दछ र प्राकृतिक रूपै अलग्गिएका जनावरको वंशाणुगत भिन्नता सिर्जना हुन्छ।
फोटो र बिष्टा
सन् २०१० मा मुस्ताङ यात्राको क्रममा सिंहले खिचेको तस्वीरले कस्तुरी मृग सम्बन्धी वर्गिकरणको दोधार सुल्झाउने रूची जगायो।
‘तस्वीरमा भएको मुस्ताङ्गे मृग नेपालमा पाइने अन्य प्रजातिभन्दा विशिष्ट थियो। मैले सम्पर्क गरेका वरिष्ठ अनुसन्धाताले त्यसलाई अल्पाइन कस्तुरी मृग बताएपनि, मेरो मन मानेको थिएन,’ सिंहले भने,‘सन् २०१५–१६ मा मैले कस्तुरी मृगबारे विद्यावारिधी सुरू गरें। मनाङ र मुस्ताङमा क्यामेरा ट्रयाप जडान गरें। तस्वीरहरुले भिन्न प्रजातिको सम्भावना देखायो, अनि हामीलाई अझ गहन अध्ययन गर्न उक्सायो।’
अनुसन्धाताले कस्तुरी मृगका बिष्टा संकलन गरे। आफ्नो क्षेत्र सीमांकन गर्न कस्तुरी मृगले निश्चित क्षेत्रमा दिसापिसाब गर्छन्। यस्ता क्षेत्रको आधारमा कस्तुरी मृगको स्थलगत उपस्थिति र प्रचुरता पत्ता लगाइन्छ। उनीहरूको रोजाइँको बासस्थानबीच सहसम्बन्ध पुष्टि गर्न पनि यसलाई प्रयोग गरिन्छ।
‘कस्तुरी मृगको तस्वीर खिचिएका जंगलका बासस्थानमा शौचका स्थान भेटिएका छन्,’ सिंहले भने,‘सबै प्रारम्भिक प्रमाणहरूलाई संकलन गरेपछि, हाम्रो समूहले मृगलाई पछ्याउन सुरू ग¥यो। शौच क्षेत्रमा क्यामेरा ट्रयापको जडान कार्य र बिष्टाका ताजा नमूना संकलन पनि थाल्यो।’
अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गत मनाङ, मुस्ताङ र कास्की क्षेत्रमा बिष्टाको नमूना संकलन कार्य नोभेम्बर–डिसेम्बरमा सुरू भयो। यसबाहेक, मनाङ र मुस्ताङको मृगको छालाको नमूना पनि वंशाणुगत विश्लेषणमा काम लाग्यो। शिकार र अन्य प्राकृतिक कारणले मरेका कस्तुरी मृगको सुकेका छालाबाट जंगलको गस्ती गर्ने अन्नपूर्ण संरक्षण क्षेत्रका कर्मचारीले सन् २००९ देखि २०१५ सम्म त्यस्ता ‘जिन’ संकलन गरे।
बाटोमा केही अप्ठ्यारा नआएका होइनन्। ‘अमेरिकास्थित नेसनल सेन्टर फर बायोटेक्नोलोजी इन्फोर्मेसनसँग पनि काश्मिरी कस्तुरीमृगको जेनेटिक सिक्वेन्स थिएन। त्यसैले वाइल्डलाइफ कन्जर्भेसन सोसाइटीका स्टिफन ओस्त्रोस्कीलाई सम्पर्क गरें। सन् २००९ मा उनले उत्तरपूर्वी अफ्गानिस्तानको नुरिस्तानमा एउटा सर्वेक्षणको नेतृत्व गरेका थिए। सो क्षेत्रबाट उनले काश्मिरी कस्तुरी मृगको सुकेको छालाको नमूना पठाएका थिए,’ सिंहले भने,‘सम्पूर्ण प्रयास चुनौतीपूर्ण थियो। तर, नेपालको हिमालयका कस्तुरी मृगको ट्याक्सोनोमिक वर्गिकरणको सवालमा ठूलो प्रगति गर्यौं।’
हालसम्म अल्पाइन कस्तुरी मृग, हिमालयन कस्तुरी मृग र कालो कस्तुरी मृग नेपालमा पाइएको अभिलेख छ। छिमेकी उत्तराखण्ड, भारत र चीनको स्वशासित क्षेत्र तिब्बतमा अगाडि नै गरिएका अवलोकनको आधारमा यी अभिलेख राखिएका थिए। कसैले सुनेको भरमा वा ‘प्रेजेन्स–ओन्ली सर्भे’को आधारमा ती अभिलेख राखिएका हुन्।
‘तर हाम्रो मोलिक्युलर विश्लेषण र काश्मिरी तथा हिमालयन कस्तुरी मृगको भौगोलिक अवस्थाको आधारमा अल्पाइन कस्तुरी मृग नेपालको हिमालय क्षेत्र वा उत्तरपश्चिम भारत र पाकिस्तानमा नपाइने हाम्रो निष्कर्ष छ,’ सिंहले भने,‘त्यसैले नेपालको हिमायलय काश्मिर कस्तुरी मृग र हिमालयन कस्तुरी मृग पाइन्छ। तर, अल्पाइन कस्तुरी मृग पाइँदैन।’
अल्पाइन कस्तुरी मृग भुटानमा पाइन्छ कि भन्नेमा पनि शंका छ। अल्पाइन कस्तुरी मृगको अस्तित्वका लागि भुटानबाट कस्तुरी मृगको मोलिक्युलर अध्ययन आवश्यक छ। अहिलेलाई यो मृगमध्ये चीनमा मात्रै पाइने तथा हिमालयन कस्तुरी मृग पूर्वी हिमालय र काश्चिमरी कस्तुरी मृग पश्चिमी हिमालयमा पाइने प्रष्ट छ।’