ललितपुरमा पाँच हजार बढीलाई कोरोना संक्रमण
ललितपुर, असोज ३० : ललितपुरमा कोरोना संक्रमितको संख्या पाँच हजार बढी नाघेको छ।जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका अनुसार जिल्लामा हालसम्म कोभिड संक्रमितको संख्या पाँच...
ललितपुर, असोज ३० : ललितपुरमा कोरोना संक्रमितको संख्या पाँच हजार बढी नाघेको छ।
जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका अनुसार जिल्लामा हालसम्म कोभिड संक्रमितको संख्या पाँच हजार २६० पुगेको हो। त्यसैगरी अहिलेसम्म कोरोना निको भई घर र्फकनेको संख्या दुई हजार ६७२ रहेको छ । यसैगरी जिल्लामा सक्रिय संक्रमितको संख्या दुई हजार ५४० र मृतकको संख्या ४८ पुगेको जिल्ला जनस्वास्थ्य कार्र्यालय ललितपुरका प्रमुख डा खगेश्वर गेलालले बताए।
ललितपुर महानगरपालिकाका प्रवक्ता एवं नं ९ का वडाध्यक्ष राजु महर्जनलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ। एक हप्ता अघिदेखि गाहो भई घरमा बसेको र मङ्गलबार थापाथलीको निजी क्लिनिकमा कोरोना परीक्षण गराउँदा सङ्क्रमण पुष्टि भएको उनले बताए।
यसैगरी महानगरपालिकाका वडा नं ९ लगायत वडा नं ८, वडा नं १२, वडा नं १६, वडा नं १९ र वडा नं २४ ले अत्यावश्यक सेवा मात्र दिइरहेका महर्जनले जानकारी दिए।
यसैगरी महानगरपालिकामा संक्रमित संख्या तीन हजार ४२८ पुगेको छ । तीमध्ये कोरोना निको भई घर फर्कनेको संख्या एक हजार ७३१, सक्रिय संक्रमित एक हजार ५८८ र मृतकको संख्या २७ पुगेको महानगरपालिकाले जनाएको छ।
बिहीबार महानगरपालिकामा भेटिएका ८२ संक्रमितमा कति महानरवासी त कति महानगरबाहिरका भनेर छुट्टाउने काम भइरहेको र्यापिड रेसपोन्स टिमकी संयोजक देवी गुरुङ्ले बताइन्।
“यहाँ कोरोना संक्रमित संख्या बढ्दै जाँदा हरेक व्यक्ति स्वयं आफै जिम्मेवार हुन, नेपाल सरकारले तोकेको मापदण्ड सबैले अपनाउन र भीडभाड पनि नगर्न दैनिक नगर प्रहरी लगाएर माइकिङ गराइरहेका छौँ”, गुरुङले भनिन्।
गोदावरी नगरपालिकामा संक्रमित संख्या ३८२ पुगेको छ । ती मध्ये निको भई घर फर्कनेको संख्या २१५ र सङ्क्रमणबाट मृत्यु हुनेको संख्या पाँच पुगेको नगरपालिकाले जनाएको छ ।
महालक्ष्मी नगरपालिकामा कोभिड संक्रमित संख्या ६१६ पुगेको छ । तीमध्ये सङ्क्रमण मुक्त भई स्वास्थ्य लाभ गर्ने २५६, संक्रमित ३५७ र मृतकको संख्या तीन पुगेको नगरपालिकाले जनाएको छ । महालक्ष्मीभित्र कोरोना संक्रमित संख्या बढेसँगै आफूहरुले परीक्षणको दायरा बढाएको र हरेक नगरवासीलाई पटकपटक स्वास्थ्य सामग्री साथमा लिएर हिँड्न पनि आग्रह गरिरहेको नगरप्रमुख रामेश्वर श्रेष्ठले बताए।
अर्का तर्फ दक्षिण ललितपुरको कोञ्ज्योसोम गाउँपालिकामा संक्रमित संख्या १३ पुगेको छ । तीनमध्ये आठ घर फर्किसकेका र पाँच होम आइसोलेसनमा रहेका स्वास्थ्य संयोजक नवलकिशोर महत्वले बताए । वाग्मती गाउँपालिकामा संक्रमित संख्या १५ पुगेको छ । तीमध्ये घर फर्किने सात र एक व्यक्ति अस्पताल र बाँकी होम आइसोलेसनमा रहेका स्वास्थ्य संयोजक नवराज तिमिल्सिनाले बताए ।
महांकाल गाउँपालिकामा संक्रमित संख्या १४ पुगेको छ । तीमध्ये घर फर्किनेको संख्या नौ र सक्रिय संक्रमित पाँच रहेका स्वास्थ्य संयोजक ज्ञानेन्द्र चन्दले बताए।











