मेसिनमा च्यापिएर किशोरको मृत्यु
महोत्तरी, असोज ३० : महोत्तरीको बर्दिबास नगरपालिका–६ मा कपडा पेल्ने मेसिनमा हात च्यापिएर एक किशोरको मृत्यु भएको छ।मृत्यु हुनेमा रौतहटको राजपुर नगरपालिका–३ बस्ने...
महोत्तरी, असोज ३० : महोत्तरीको बर्दिबास नगरपालिका–६ मा कपडा पेल्ने मेसिनमा हात च्यापिएर एक किशोरको मृत्यु भएको छ।
मृत्यु हुनेमा रौतहटको राजपुर नगरपालिका–३ बस्ने १५ वर्षीय जाकिर मियाँ धोबी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए। बिहीबार साँझ बर्दिबास–६ मा पुरानो कपडा पेलेर कपास बनाउने ना ७ प १३८३ नम्बरको ट्याक्टरमा कपडा पेल्ने क्रममा किशोर धोबीको दाहिने हात च्यापिएर गम्भीर घाइते भएका थिए।
अत्यधिक रक्तश्राव भइरहेको किशोर धोबीलाई तत्काल धनुषाको लालगढस्थित मोडल अस्पतालमा उपचारको लागि पठाइएको र त्यहाँ सामान्य उपचारपश्चात विशेष उपचारको लागि वीरगञ्जस्थित नेसनल मेडिकल कलेज लगिएको थियो। उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
कपडा पेल्ने मेसिनसहितको ट्याक्टर र चालक रौतहटको ईशनाथ नगरपालिका–९ बस्ने २३ वर्षीय असलम मियाँलाई ईलाका प्रहरी कार्यालय बर्दिबासले नियन्त्रणमा लिएको छ।











