Kathmandu Press

माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजनाको निर्माण रोकियो

तनहुँ, असोज २८ : लमजुङस्थित दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माणाधीन २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ आयोजनाको निर्माण कार्य रोकिएको छ।...
माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजनाको निर्माण रोकियो

तनहुँ, असोज २८ : लमजुङस्थित दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माणाधीन २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ आयोजनाको निर्माण कार्य रोकिएको छ। लिबर्टी इनर्जी हाइड्रोपावरद्वारा प्रवद्र्धित  आयोजनामा कार्यरत २७  कर्मचारीमा मङ्गलबार साँझ एकै पटक कोरोना सङ्क्रमण पुष्टि भएपछि आजदेखि आयोजनाको निर्माण राेकिएको हो।

आयोजनामा कार्यरत कर्मचारीमा कोरोना सङ्क्रमण भएकाले जोखिम र कामदारको अभावले आयोजनाको निर्माण बन्द गरिएको आयोजनाका राजेन्द्र वस्तीले बताए। आयोजनाको अधिकांश निर्माण सम्पन्न भई विद्युत्गृहको काम बाँकी छ। हालसम्म ९८ प्रतिशत निर्माण सम्पन्न भइसकेको र आगामी मङ्सिरदेखि  बिजुली बाल्ने तयारी भए पनि कोभिड १९ ले प्रभाव पार्ने देखिएको आयोजनाले जनाएको छ।

आयोजना विसं २०७१ देखि थालनी हुँदै आएको छ। विसं २०७४ मा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइए पनि भूकम्प, नाकाबन्दी र गत भदौमा आएको बाढीका कारण निर्धारित समयमा  सम्पन्न हुन नसकेको आयोजनाले जनाएको छ। सम्झौतानुसार  आयोजनाको निर्माण  सम्पन्न गर्नुपर्ने समय गत चैत ३० गतेसम्म  थियो।

निर्माण लम्बिँदा लागत रु ६७ करोड ६० लाख बढी लाग्ने अनुमान आयोजनाको छ ।  शुरुमा रु तीन अर्ब ९६ करोड लगानीमा  सम्पन्न गर्ने लक्ष्य रहे पनि बढेर हाल रु चार अर्ब ६३ करोड ६० लाख लाग्ने अनुमान आयोजनाले गरेको छ। आयोजनाको लागत प्रतिमेगावाट रु १८ करोड ५४ लाख  लाग्ने कम्पनीको अनुमान छ।

आयोजनाबाट वार्षिक १३ करोड ६७ लाख ८४ हजार युनिट बिजुली उत्पादन हुने कम्पनीले जनाएको छ। आयोजनाको बाँधस्थल लोदो खोलाबाट दुई हजार सात सय मिटर लामो भूमिगत सुरुङ र त्यत्तिकै लामो पेनस्टक पाइपमार्फत दोर्दी खोलाको पानीलाई विद्युत्गृहमा झारिने छ।

आयोजनामा १२ दशमलव ५ का दुई वटा गरी २५ मेगावाटको बिजुली उत्पादन हुने भएको छ।  आयोजनाको बिजुली हिउँदमा रु ८ र पैसा ४० तथा  वर्षायाममा रु चार र पैसा ८ हुने गरी प्रवद्र्धक कम्पनी लिबर्टी र नेपाल विद्युत् प्राधिकरणबीच विद्युत् खरीदबिक्री सम्झौता (पिपिए) भएको छ। (रासस)

प्रकाशित मिति: १९:५५ बजे, बुधबार, असोज २८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्