Kathmandu Press

जग्गा हेर्ने बहानामा लुटपाट गरी हत्या गर्ने तीन पक्राउ

काठमाडौं, असोज २७ : महानगरीय अपराध महाशाखा काठमाडौँले जग्गा हेर्ने बहानामा चाँगुनारायण नगरपालिका–८ बस्ने ६१ वर्षीय चन्द्रबहादुर योञ्जन (लामा)को लुटपाटपछि हत्या गरेको आरोपमा...
जग्गा हेर्ने बहानामा लुटपाट गरी हत्या गर्ने तीन पक्राउ

काठमाडौं, असोज २७ : महानगरीय अपराध महाशाखा काठमाडौँले जग्गा हेर्ने बहानामा चाँगुनारायण नगरपालिका–८ बस्ने ६१ वर्षीय चन्द्रबहादुर योञ्जन (लामा)को लुटपाटपछि हत्या गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ। 

हत्या आरोपमा पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–२ लेखर्क घर भई काठमाडौँको थली बस्ने ३७ वर्षीय शेर्पा भन्ने कामी लामा, सिन्धुपाल्चोककै चौतारा बतासे नगरपालिका–२ हाल कामपा–७ बौद्ध बस्ने २३ वर्षीय रमेश तामाङ (ज्वाला तामाङ) र रामेछापको धोवी गाउँपालिका–५ स्थायी घर भई हाल कामपा–७ बौद्ध बस्ने २७ वर्षीय प्रेम तामाङ छन् । उनीहरुलाई सोमबार काठमाडौँको विभिन्न स्थानबाट पक्राउ गरी आज सार्वजनिक गरिएको हो। 

यही असोज २१ गते अपराह्न १६ः३० बजे मृतक योञ्जनले सञ्चालन गरेको पसलमा आई उनीहरुले मादक पदार्थ सेवन गरी आफन्तलाई जग्गा चाहिएको छ भन्ने बहाना बनाई जग्गा हेर्न भनी पसलभन्दा एक किलोमिटर पर विडोलफाँटस्थित धानखेतमा लगेर कुटपिट गरी साथमा रहेको सुनको ब्रासलेट तथा मोबाइल लुटेर लगेका थिए। 

निज योञ्जनको उपचारका क्रममा ग्रीनसिटी अस्पताल बसुन्धारामा मृत्यु भएको थियो। अनुसन्धानका क्रममा शेर्पा भन्ने कामी लामाले मृतकसँग रकम लिन बाँकी रहेको र मृतककले रकम दिन आनाकानी गरेको कारण निजलाई कुटपिट गरेर रकम असुल्न अन्य दुई सहयोगी बोलाएको खुलेको छ। एकान्तमा रहेको धानखेतमा उनीहरुले मृतकलाई अनुहार, छाती र पेटको भागमा हात र खुट्टाले कुटपिट गरी घाइते बनाई निजको साथमा रहेको सुनको ब्रासलेट (दुई तोला दुई लाल) तथा मोबाइल लुटी फरार रहेको महाशाखाले जनाएको छ। 

प्रहरीले घटनामा प्रयोग भएको बा ९६ प ७११४ नम्बरको मोटरसाइकल, मृतकले प्रयोग गरेको मोबाइल, मृतकको सुन बिक्रीबाट प्राप्त रु एक लाख ५५ हजारमध्ये रु ५४ हजार ६०० र गालेको सुन (एक तोला एक लाल) बरामद गरेको छ। 

प्रकाशित मिति: २०:५२ बजे, मंगलबार, असोज २७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्