Kathmandu Press

पशुपतिमा थप तीन वटा शवदाह यन्त्र निर्माण हुँदै 

काठमाडौं, असोज २६ : काठमाडौं महानगरपालिकाको आर्थिक अनुदानमा पशुपति क्षेत्र परिसरमा थप ३ वटा विद्युतीय शवदाह यन्त्रसहित एउटा शवदाह गृह निर्माण हुने भएको...
पशुपतिमा थप तीन वटा शवदाह यन्त्र निर्माण हुँदै 

काठमाडौं, असोज २६ : काठमाडौं महानगरपालिकाको आर्थिक अनुदानमा पशुपति क्षेत्र परिसरमा थप ३ वटा विद्युतीय शवदाह यन्त्रसहित एउटा शवदाह गृह निर्माण हुने भएको छ।

महानगरका प्रमुख विद्यासुन्दर शाक्यले सोमबार वडा नम्बर–१४ को कुलेश्वर महादेव मन्दिर परिसरमा ‘कुलेश्वर पार्क’को शिलान्यास गर्ने क्रममा थप तीन वटा शवदाह यन्त्र निर्माण हुने बताएका हुन्।

‘काठमाडौँ महानगरपालिका संम्पदा संरक्षण, पार्क तथा हरियाली प्रवद्र्धनसँगसँगै पूर्वाधार निर्माण र सामाजिक कार्यक्रमा पनि उत्तिकै सक्रिय छ,’ शाक्यले भने, ‘अब छिट्टै काठमाडौँ महानगरपालिकाको करीब १५ करोेड रूपैयाँको आर्थिक अनुदानमा पशुपति क्षेत्र परिसरमा थप ३ वटा विद्युतीय शवदाह यन्त्रसहित एउटा गृहको निर्माण कार्य अघि बढ्ने भएको छ।’ 

प्रमुख शाक्यले केही दिनमै पशुपति क्षेत्र विकास कोषसँग सम्झौता गरी निर्माण कार्यको थालनी हुने जानकारी दिए।‘हामीले दुई–तीन चरणका छलफल सम्पन्न गरिसकेका छौँ,’शाक्यले भने,‘अब सम्झौताको चरणमा पुगेका छौँ। महानगरपालिकाले बजेट र नीति तथा कार्यक्रममासमेत पशुपति क्षेत्र परिसरलगायतका स्थानमा विद्युतीय शवदाह यन्त्र र गृह निर्माण गर्ने कुरालाई समावेश गरेको छ। त्यसै अनुरुप हामीले पहिलो चरणमा पशुपति क्षेत्र परिसरमा निर्माण गर्न लागिएको हो।'

शाक्यले पशुपति क्षेत्रमा थप तीन ओटा विद्युतीय शवदाह यन्त्र निर्माणपछि त्यहाँ शवदाहका लागि लामो समयसम्म पालो कुर्नु पर्ने वाध्यताको अन्त्य हुने अपेक्षा लिएको बताए।  

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदीप ढकालले पनि काठमाडौँ महानगरपालिकाले विद्युतीय शवदाह यन्त्र र गृह निर्माणका लागि गरेको पहल सकारात्मक भएको बताए।

असोज २० गते मेयर शाक्यको अध्यक्षतामा बसेको महानगरको ५१ औ कार्यपालिका बैठकले पनि पशुपति क्षेत्रमा शवदाह गृह निर्माणका लागि अघि बढाएको प्रक्रियामा लाग्ने खर्च अनुदान दिने निर्णय गरिसकेको छ।  

करिब ९ रोपनी क्षेत्रफलमा पार्क निर्माण

संघीय सांसद कृष्णगोपाल श्रेष्ठ, प्रदेश सांसद डाक्टर अजयक्रान्ति शाक्यलगायतको उपस्थितिमा सोमबार कुलेश्वर महादेव मन्दिर परिसरमा प्रमुख शाक्यले शिलान्यास गरेको पार्क करिब ९ रोपनी क्षेत्रफलमा निर्माण हुन लागेको हो। उक्त पार्क करीब १ करोड २० लाखको लगानीमा निर्माण हुन लागेको वडाध्यक्ष सोभा सापकोटाले जानकारी दिइन्। 

काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ को बजेटमा आफ्नो क्षेत्रभित्रका सार्वजनिक जग्गाको संरक्षण गरी खुला क्षेत्रका रुपमा विकास गर्न २० लाखदेखि ६ करोड रूपैयाँसम्मका ३० भन्दा बढी पार्क निर्माणको योजना अघि सारेको छ। ती पार्क निर्माणका लागि मात्रै महानगरपालिकाले २७ करोड रूपैयाँभन्दा बढी बजेट विनियोजन गरेको छ।

प्रकाशित मिति: २१:१५ बजे, सोमबार, असोज २६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्