बागलुङमा फेरि बढ्दै कोरोना संक्रमण
बागलुङ, असोज २६ : जिल्लामा कोरोना संक्रमितको संख्या ५२५ पुगेको छ। केही समय नियन्त्रण उन्मुख देखिए पनि अहिले फेरि संक्रमण दर बढ्दो छ।...
बागलुङ, असोज २६ : जिल्लामा कोरोना संक्रमितको संख्या ५२५ पुगेको छ। केही समय नियन्त्रण उन्मुख देखिए पनि अहिले फेरि संक्रमण दर बढ्दो छ। पछिल्ला दश दिनमा मात्र १२१ जना संक्रमित थपिएका हुन्।
शनिबार नेपाली सेना, प्रहरी, अदालतका कर्मचारी, थुनुवालगायत गरी ४७ जनामा कोरोना पुष्टि भएको थियो। स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौले ‘क्लस्टर’मा संक्रमण देखिएकाले आत्तिहाल्नुपर्ने स्थिति नरहेको बताए।
‘सेनाको ब्यारेकलगायत खासखास ठाउँ र ट्राभल हिस्ट्री भएका व्यक्तिमा संक्रमण बढी छ,’ उनले भने, ‘क्लस्टरबाट समुदायमा फैलन नदिन विशेष सावधानी अपनाउनुपर्छ।’ यात्रा विवरण नभएका संक्रमित फाटफुट्ट देखिए पनि ठूलो जनसङ्ख्यामा कोरोना नपुगेको उनको भनाइ छ।
समुदायमा कोरोनाको फैलावट रोक्न सबैले जनस्वास्थ्यका मापदण्ड पूर्णरुपमा पालना गर्नुपर्ने प्रमुख गुरौले बताए। स्वास्थ्य कार्यालयका अनुसार हालसम्म कोरोना लागेर निको हुनेको संख्या ३६७ छ भने आइसोलेसनमा १५७ संक्रमित छन्।
कोरोनाका कारण जिल्लामा एक जनाको मृत्यु भएको छ। क्वारेन्टाइनमा रहेकाको संख्या ८५ छ। हालसम्म आठ हजार ७२२ जनाको पीसीआर जाँच गरिएको छ। संक्रमित हुनेमा पुरुष ८६ र महिला १४ प्रतिशत छन्।
सबैभन्दा बढी बागलुङ नगरपालिकामा १६८ र सबैभन्दा कम ताराखोला तथा निसिखोला गाउँपालिकाका १७÷१७ जनामा सङ्क्रमण देखिएको छ। कोरोना संक्रमाणपछि निको भएको दर ७० प्रतिशत छ भने मृत्युदर ० दशमलव ०२ प्रतिशत छ ।
यस्तै पीसीआर जाँच मध्येमा ६ दशमलव ०२ प्रतिशत संक्रमण दर छ। जिल्लामा पहिलोपटक गत चैत १५ मा कोरोना देखिएको थियो जुन नेपालकै पाँचौ संक्रमणको घटना थियो। संक्रमित बढेसँगै पहिले रहेका आइसोलेसन कक्षमा श्यया थप गर्न थालिएको छ। स्थानीय तहले पनि १०÷१० श्ययाको आइसोलेसन केन्द्र बनाएका छन्।











