Kathmandu Press

सगरमाथा आरोही अक्सिजनका पुराना र खराब उपकरणको मारमा

सगरमाथाको शिखर नजिकै हिउँले जमेको ढुंगामाथि बसेका एड्रियन बलिञ्जरले आरोहण टोलीको अक्सिजन रेगुलेटर एकपछि अर्काे बिग्रिएको हेरिरहे।

सिलिन्डरबाट स्वाँ गरेर अक्स....

सगरमाथा आरोही अक्सिजनका पुराना र खराब उपकरणको मारमा

सगरमाथाको शिखर नजिकै हिउँले जमेको ढुंगामाथि बसेका एड्रियन बलिञ्जरले आरोहण टोलीको अक्सिजन रेगुलेटर एकपछि अर्काे बिग्रिएको हेरिरहे।

सिलिन्डरबाट स्वाँ गरेर अक्सिजन फुस्किन्थ्यो। केही पटाकाजस्तै आकाशमा पड्किन्थे। विश्वकै अग्लो हिमाल चढ्ने सयौं पर्वतारोहीले बोक्ने सिलिन्डरको बयान बलिञ्जरले यसरी नै गरे। २५ जनाको टोली आत्तियो। अघिल्लो वर्ष यात्रा सुरू गरेको एक घण्टा नबित्दै ९ वटा  अक्सिजन सिलिन्डरका रेगुलेटर बिग्रिएको उनले बताए। रेगुुलेटर सिलिन्डरमाथि हुन्छ र अक्सिजनको बहाव नियन्त्रण गर्दछ।

‘त्यो मेरो जीवनकै भयानक दिन थियो,’ बलिञ्जरले भने। उनले एक दशकदेखि सगरमाथा आरोहण टोलीको नेतृत्व गरिरहेका छन्। सगरमाथा शिखरमा बलिञ्जरको दुई टोलीले सामना गर्नुपरेको यो घटना एकमात्र होइन। दुई दशकयताका अन्तर्वार्ता र सार्वजनिक अभिलेख अनुसार कम्तिमा पनि २१ जनाले जोखिमपूर्ण उपकरणको समस्याबारे गुनासो गरेका छन्। अधिकांश गुनासो चुहावट हुने अक्सिजनका सिलिन्डर, काम नगर्ने रेगुलेटर वा अनुभव नभएका पर्वतारोहीले गर्ने मानवीय त्रुटी सम्बन्धी छन्।

Hardik ivf

नाफा बढाउन केही हिमाल आरोहण आयोजकले पुराना र कमसल गुणस्तरका उपकरण प्रयोग गर्ने गरेको गाइड, पर्वतारोही र इन्जिनियरहरूले अन्तर्वार्ताहरूमा बताएका छन्। यस्तो प्रवृत्ति बढ्दै गएपनि समस्याबारे सम्बन्धित निकायमा खासै गुनासो वा उजुरी नगरिएको उनीहरू बताउँछन्।

लाखौं डलरको पर्वतारोहण उद्योगलाई नेपालले फितलो नियमन गरेको छ। नेपाल र तिब्बतमा बसन्त ऋतुको आगमनसँगै नेपाल सरकारले गतिविधि बढाउन थालेको छ।
अघिल्लो महिना अधिकारीहरूले दश वर्षभन्दा पुरानो सिलिन्डरको प्रयोगमा प्रतिबन्ध लगाए। अक्सिजन गुणस्तरको मापदण्ड तोके र उपकरण निरीक्षण गर्ने समूह गठन गर्ने बताए।

‘यो गम्भिर मुद्दा हो,’ पर्यटन मन्त्रालयकी अधिकारी मीरा आचार्यले भनिन्। पर्वतारोहण टोलीको अनुगमन गर्न सेनाका अधिकारीलाई आधार शिविर खटाउन सकिने उनले बताइन्। गम्भिर सुधार नगरिए, संकट निश्चित भएको एसियन ट्रेकिङका प्रबन्ध निर्देशक दावा स्टिभन शेर्पाले बताए। एसियन ट्रेकिङ नेपालकै पुरानो पर्वतारोहण कम्पनीमध्ये एक हो।

‘बजारलाई अक्सिजन सिलिन्डरबारे धेरै कुरा थाहा छैन,’ शेर्पाले भने। ९० को दशकमा रूसको पोइस्क नामक एउटै कम्पनीले सस्तो र हल्का सिलिन्डर बजारमा ल्यायो। यसले ठूलो र व्यवसायिक सगरमाथा आरोहणको प्रचलन बढ्यो। पोइस्कका प्रतिनिधि इगोर आस्मारिनले बताए अनुसार नेपालका उच्च–हिमाली भेगतिर प्रयोग हुने ९० प्रतिशत अक्सिजन प्रणाली पच्चिस वर्षदेखि कम्पनीले नै पठाएको अनुमान छ।

पोइस्कले फेरि भर्न मिल्ने सिलिन्डर ल्याएपछि आरोहण गाइडहरूले पहिले प्रयोग गरिएका सिलिन्डरको कालोबजारी गर्न थाले। सिलिन्डर भर्न र मर्मत गर्नलाई कम्पनी पठाउने खर्च बचाउन थाले। डिजाइनभन्दा पनि थोत्रा र म्याद सकिएका सिलिन्डरको प्रयोगसँगै त्यसरी हुने दुरूपयोग मुख्य समस्या भएको आस्मारिनले बताए। सन् १९९९ मा बेलायतका २२ वर्षीय युवा पर्वतारोही माइकल म्याथ्युज सगरमाथा शिखर नजिकै बेपत्ता भए। घटनाले विशेष गरी अक्सिजन उपकरणमाथि प्रश्न उठायो। 

म्याथ्युज लगायत आरोहण टोलीका अन्य सदस्यले अप्रिलमा आधार शिविरदेखि सगरमाथा चढ्न सुरू गरे। अदालतको दस्तावेज अनुसार उपकरणबाट अक्सिजन चुहिएको वा आपूर्ति  नै नभएको केही सदस्यले चाल पाए। तीमध्ये केही ‘सेकेन्डह्यान्ड’ उपकरण पनि थिए। अक्सिजनमा कुनै खराबी नभएको भन्दै म्याथ्युज अघि बढे। मे १३ मा शिखर पुगे। उनलाई जीवित देखिएको त्यो नै अन्तिम दिन थियो। आँधीबेहरी आउँदा ओर्लिने क्रममा म्याथ्युज लडेको हुनसक्ने अनुमान छ।  

सन् २००५ मा पिता डेभिड म्याथ्युजले आरोहणका आयोजक सदस्य र अक्सिजन आपूर्तिकर्ताविरूद्ध हत्याको अभियोग लगाए। तर, अर्को वर्ष उनको मुद्दा खारेज भयो। माइकल म्याथ्युजको लाश नभेटिएको र उनी बेपत्ता भएको दिन उपकरणमा समस्या भएको कुनै प्रमाण नभेटिएको न्यायाधीशले फैसला गरे।

उद्योगको प्रभावकारी नियमन अझै भएको छैन। आरोहीहरूले निरन्तर गुनासो गरिरहे। रोबिन मूर अमेरिकी चिकित्सक हुन्। सन् २०१७ मा सगरमाथाको शिखर पुग्दा उनलाई सास फेर्न अप्ठ्यारो भयो। गाइडहरूले उनको उपकरणले काम गरिरहेको र त्यसमा अक्सिजन पनि भएको बताए। तर, मूर केहीबेरमै अचेत भइन्। एक जना भरियाले सिलिन्डर फेरिदिएको उनले बताइन्। अक्सिजन आपूर्ति हुन थाल्यो र उनी ब्यूँँझिइन्।

सन् २०१२ मा बेलायती इन्जिनियर टेड एट्किन्सले नयाँ युरोपेली सिलिन्डरमा एउटा रूसी रेगुलेटर कस्दै थिए। अकस्मात पड्क्यो। एट्किन्स टपआउट नामक कम्पनीका संस्थापक थिए। टपआउट पोइस्कको पहिलो वैकल्पिक प्रतिस्पर्धी थियो। दुर्घटनापछि अक्सिजन प्रणालीमा सोचेभन्दा धेरै समस्या भएको एट्किन्सले पत्ता लगाए। परीक्षण गरेका दश प्रतिशत पोइस्क सिलिन्डरको ‘भल्भ’बाट चुहावट भएको उनको अनुमान थियो। एक पटक शिखर चढ्ने प्रयासमा अधिकांश आरोहीले थुप्रै सिलिन्डर प्रयोग गर्ने सन्दर्भमा यो उल्लेखनीय संख्या हो।

त्यसैगरी आरोहीलाई अक्सिजन आपूर्ति र मापन गर्न सहयोग गर्ने रेगुलेटर कहिले जम्ने, कहिले अक्सिजन आपूर्ति नगर्ने वा गलत मापन गर्ने हुन्थ्यो। हालै मात्र सिलिन्डरका थोरै संख्यामा ट्याङ्कीबाट चुहावट भइरहेको एट्किन्सले पत्ता लगाए। ट्याङकीलाई पानीमा डुबाउँदा ग्यासका फोका देखिन्थे। ‘प्रत्येक पटक सिलिन्डर भर्दा ग्यासको दबाबले फुलिन्छ,’ उनले भनेका थिए,‘त्यसरी फुलिँदा धातुले बनेको ट्याङ्की कमजोर हुन्छ।’

पोइस्कका प्रतिनिधि आस्मारिनले कम्पनीले मर्मतसम्भार नगरेका उपकरणमा देखिने समस्याका लागि कम्पनी जिम्मेवार नहुने बताए। पोइस्क धेरै वर्षदेखि नेपालमा सक्रिय नभएको र ‘म्याद सकेका वा गैरकानूनी रूपमा भरिएका सिलिन्डर’ प्रयोग गरे पड्किने जोखिम र अन्य समस्या हुन सक्नेबारे कम्पनीले निरन्तर चेतावनी दिएको पनि उनले बताए।

‘केही आरोहण आयोजकलाई, सुरक्षाभन्दा पैसा नै महत्वपूर्ण हुन्छ,’ आस्मारिनले भने। एट्किन्स र उद्योगका जानकारहरूका अनुसार म्याद सकिएको वर्षाैं भएपनि पुराना सिलिन्डर परिवर्तन गर्ने सवालमा केही आरोहण सञ्चालकका खुट्टा काम्छन् र काठमाडौं वा भारतका सस्ता सेवा प्रदायकबाट अक्सिजन आपूर्ति गर्छन्। नयाँ सिलिन्डरमा म्याद सकिने र सेवामा राखिएको मिति ‘लेबल’ गरिएको हुन्छ। यसले नियमित मर्मतसम्भार सुनश्चित गर्दछ। पुरानामा यस्तो लेबल हुँदैन। त्यसैले सिलिन्डरको आयु पत्ता लगाउन कठिनाइ हुन्छ।

काठमाडौंमा आरोहण दलका लागि सिलिन्डर भर्ने एस.डि. ग्यासेसका कार्यकारी प्रमुख दिवस अमात्य उपकरणकै कारण हिमालमा कति जनाले ज्यान गुमाए भनेर भन्न नसकिने बताउँछन्। पर्वतारोहणको ‘आर्काइभ’ हिमालय डेटाबेसले जनाएअनुसार गएको दशकमा ‘एक्युट माउन्टेन सिक्नेस’ले कम्तिमा १४ जना पर्वतारोहीको ज्यान लिएको अनुमान छ। पर्वतारोहीले सगरमाथामा ज्यान गुमाउने यो एउटा मुख्य कारण हो। यसले मष्तिष्क सुनिन्छ र फोक्सोमा पानी जम्छ।

अन्य पर्वतारोहीको मृत्यु ‘थकान’ वा दुर्घटनाजस्ता कारणले पनि भएको छ। ‘हाइपोक्सिया’ले यस्तो भएको हुनसक्छ। थप अक्सिजनले लेक लाग्नबाट जोगाउँदैन तर त्यसको जोखिम भने घटाउँछ। नेपाल सरकारले अनुसन्धानमा खासै ध्यान दिएको छैन। आरोहण आयोजक आरोहीको लाश र उनीहरूको उपकरण पछि नै छोडेर आउँछन्। उद्धार गर्न कठिन हुने उनीहरूको बहाना हुन्छ।

‘त्यहाँ धेरेजसो मृत्युबारे कुरा गर्दैनन् किनभने उनीहरू डराउँछन्,’ अमात्यले भने। सुरक्षाबारे चिन्तित अमात्यले एक दशकअघि नै पुराना र दर्ता नगरिएका पोइस्क सिलिन्डर बजारबाट हटाउन सम्बन्धित अधिकारीलाई सुझाव दिएका थिए। ती सिलिन्डर आज पनि धेरै कम्पनीले प्रयोग गर्छन्। उनको सुझाव कहिले कार्यान्वयन गरिएन।
अघिल्लो वसन्त ऋतुमा नेपाल र तिब्बतबाट सयौं आरोहीले सगरमाथा चढे। एड्रियन बलिञ्जरले नेतृत्व गरेका दुई टोली त्यहीँ खतरामा परेका थिए। रेगुलेटर काम नलागेपछि बलिञ्जरले आरोहीलाई सुरक्षित स्थल ओराले। शेर्पा गाइडहरूले अक्सिजनका मास्क पालैपालो अघि–पछि बाँडेर प्रयोग गरे। कति पटक लगाएनन् पनि। ‘ब्याकअप’ रेगुलटर पनि सकियो।

अलि तल झरेपछि थप चारोटा रेगुलेटर बिग्रिए। ‘मैले यस्तो पहिलो पटक देखेको हुँ,’ बलिञ्जरले भने। उपकरण उत्पादन गर्ने बेलायती कम्पनी समिट अक्सिजनको बजारमा निकै नाम भएको उनले बताए। तिब्बतपट्टि पनि कम्तिमा दुई आरोहण दलले उस्तै समस्या भएको जनाए। त्यही समयमा, नेपालमा भने थप समस्या भएको सूचना प्राप्त भयो। बेन फोगल सगरमाथाको शिखर पुग्नै लाग्दा समिट अक्सिजनको दुईवटा रेगुलेटर पड्किए। ती रेगुलेटर समूहले ल्याएको पोइस्क सिलिन्डरमा जडान गरिएको थियो। एक जना भरिया र आरोहण दलता नेताले फोगललाई उनीहरूको उपकरण दिए र संकटबाट जोगाए।

एउटा अन्तर्वार्तामा समिट अक्सिजनका प्रबन्ध निर्देशक निल ग्रिनवुडले हिमालको उच्च आर्द्रता र रेगुलेटरमा प्रभाव पार्ने मिहिन ‘लिक’का कारण त्यस्तो भएको बताए। थोरै अवधिमा समस्याहरू देखिएको र आरोहीले गलत तरिकाले उपकरण प्रयोग गरेकाले समस्या अझ बढेको उनले बताए। ‘गम्भिर समस्या थियो,’ उनले भने,‘हामीले त्यस्को समाधान निकालेका छौं। हामीले उपकरण फिर्ता गर्न सूचना जारी गरेका छौं। अब फेरि यस्तो हुने छैन।’ उपकरण कसरी प्रयोग गर्नेबारे उनले हालैमात्र तालिम सञ्चालन गरेका छन्।

सगरमाथा चढ्नुअघि, फोगलले ‘एभलाञ्च’, भूकम्प र ‘क्रेभास’ को पूर्वतयारी गरेका थिए। तर, अक्सिजन प्रणालीको सुरक्षाबारे कल्पनासम्म पनि नगरेको उनले बताए। ‘हामी मानिसले बनाएको उपकरणले कहिले धोका दिँदैन भनेर सोच्नु मेरो मूर्खता थियो,’उनले भने।

न्यूयोर्क टाइम्स

प्रकाशित मिति: ०७:१५ बजे, सोमबार, वैशाख १६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्