Kathmandu Press

डा. केसी र सरकारबीच भएको सहमतिको कांग्रेसद्वारा स्वागत

काठमाडौं, असोज २५ : प्रमुख प्रतिक्षी दल नेपाली कांग्रेसले चिकित्सा शिक्षा सुधारको माग राखेर अनसन बसेका डा. गोविन्द केसी र सरकारबीच भएको आठ...
डा. केसी र सरकारबीच भएको सहमतिको कांग्रेसद्वारा स्वागत

काठमाडौं, असोज २५ : प्रमुख प्रतिक्षी दल नेपाली कांग्रेसले चिकित्सा शिक्षा सुधारको माग राखेर अनसन बसेका डा. गोविन्द केसी र सरकारबीच भएको आठ बुँदै सहमतिको स्वागत गरेको छ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै डा. केसी र सरकारबीच भएको सहमतिको स्वागत गरेका हुन्। उनले ‘साउनमा सहमति माघमा उल्लंघन’ को नजिर दोहोरिन नदिन खबरदारी आवश्यक भएको बताएका छन्।

‘आमरण अनशनको २७ दिन पुग्दै गर्दा डा. गोविन्द केसी र संघीय सरकारबीच भएको सहमतिलाई नेपाली कांग्रेस स्वागत गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘केसीले अघि सार्नुभएका मुद्दाप्रति वर्तमान सरकारको रबैया शुरुआतदेखि नै पूर्वाग्रहपूर्ण थियो। जुम्ला अनशनपछि काठमाडौं आइपुग्दा दुर्व्यवहारपूर्ण ब्यवहारदेखि वार्ता नै नगर्ने हठसम्म प्रस्तुत गर्ने सरकार चौतर्फी दबाबपछि अन्ततः वार्ता समिति बनाउंदै सहमतिमा पुगेको छ। सहमतिलाई हामीले सकारात्मक रूपमा लिएका छौं। तर,  विगतमा सहमति उल्लंघन गरिएको नजीर दृष्टिगत गर्दै खबरदारी जारी राख्न सबैमा अपील गर्दछौं।’

प्रवक्ता शर्माले वर्तमान प्रधानमन्त्रीको अग्रसरतामा २०७५ साउन १० गते डा. केसीसँग गरिएको सहमति सोही वर्षको माघ महिनामा सरकारले उल्लंघन गरेको पनि स्मरण गराएका छन्।

कांग्रेसको नेतृत्वमा रहेको अघिल्लो सरकारले डा. केसीका माग पूरा गर्दै जारी गरेको अध्यादेश विस्थापित गर्नु र डा. केसीसँगको अघिल्लो सहमति उल्लंघन गर्नुको कारण पछिल्लो द्वन्द्व सिर्जना भएको कांग्रेसले जनाएको छ। थप द्वन्द्व सिर्जना हुन नदिन आठ बुँदे सहमति ईमान्दार ढंगले कार्यान्वयन गर्दै अघि बढ्न कांग्रेसले सरकारलाई आग्रह समेत गरेको छ।

प्रकाशित मिति: १७:५१ बजे, आइतबार, असोज २५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्