कोरोना प्रभाव : दूध विक्री नहुँदा किसान र व्यवसायीलाई २५ अर्ब घाटा
काठमाडौं, असोज २४ : कोरोना भाइरसका कारण बजारमा चहलपहल नहुँदा दूध विक्रीमा ठूलो मात्रामा कमी आएको देखिएको छ। दूध विक्री नहुँदा पाँच लाख दूध...
काठमाडौं, असोज २४ : कोरोना भाइरसका कारण बजारमा चहलपहल नहुँदा दूध विक्रीमा ठूलो मात्रामा कमी आएको देखिएको छ।
दूध विक्री नहुँदा पाँच लाख दूध व्यवसायी संकटमा परेका व्यवसायीको दाबी छ। कोरोना कहर सुरु भएदेखि ६ महिनायता बजारमा पूर्ण रुपले दूध विक्रीवितरण गर्न नसक्दा २५ अर्ब नोक्सानी व्यहोर्नु परेको नेपाल डेरी एसोसिएसनले जनाएको छ।
कोरोनाका कारण होटेल, रेष्टुरेन्ट, चिया पसल, विद्यालय, पार्टी प्यालेस बन्द हुँदा दूध विक्रीमा कमी आएको एसोसिएसनका महासचिव प्रल्हाद दाहालले बताए। उनका अनुसार दूध उत्पादन गर्ने किसानको दूधले बजार नपाउँदा पाँच लाख व्यवसायी संकटमा छन्।
‘कोरोनाका कारण दूग्धजन्य पदार्थ विक्री हुन सकेको छैन। जसका कारण देशभरका पाँचख लाख व्यवसायीले करिब २५ अर्ब रुपैयाँ घाटा व्यहोर्नुपरेको छ’, दाहालले भने, ‘तीन अर्ब रुपैयाँ बराबरको दूध स्टकमा बसेको छ। जसका कारण दुई महिनाको दूधको पैसा दिन सकिएको छैन।’
उनका अनुसार नेपालमा दैनिक ६२ लाख लिटर दूध उत्पादन हुन्छ। ३१ लाख लिटर दूध स्थानीय स्तरमै खपत हुन्छ भने ३१ लाख लिटर बजारमा जान्छ। ‘बजारमा आएको ३१ लाख लिटरमध्ये ४० प्रतिशत दूध विक्री भएको छैन,’ उनले भने।
बजारमा विक्री नभएको दूधको पाउडर बनाउने गरिन्छ। पाउडर दूध विक्री हुने समय चैत, बैशाख र जेठ हो। ‘यो पटक दूध विक्री नहुँदा पाउडर दूध समेत स्टकमा छ,’ उनले भने, ‘चालु पूँजी छैन। जसका कारण किसानलाई भुक्तानी दिन र व्यवसाय सञ्चालन गर्न कठिन भएको छ।’
नेपालमा दूध उत्पादन गर्ने ८० प्रतिशत निर्वाहमूखी किसान छन्। व्यवसायिकरुपमा गाई, भैंसी पालेर दूध उत्पादन गर्ने फर्म कमै मात्रमा रहेको दाहालको भनाइ छ। निर्वाहमूखी दूध उत्पादन गर्ने भन्दा व्यवसायिकरुपमा दूध उत्पादन गर्ने बढी मर्कामा परेका छन्। नुवाकोटको बेलकोटगढी–११ का ४० वर्षीय कृष्ण रैलाका अनुसार दूग्ध संकलन केन्द्रले दुई महिनाको पैसा रोकिदिएको छ।
‘संकलन केन्द्रले बजारमा दूध बेच्न सकेको छैन। बजारमा खपत कम भएको भन्दै दुई महिनाको पैसा रोकिदिएको छ,’ उनले भने,‘गाउँकै मानिसको संकलन केन्द्र भएकाले पैसा आउला भन्ने आशामै छु।’











-(32)-1764944804.jpeg)
