Kathmandu Press

तिहारमा रानीपोखरी सर्वसाधारणका लागि खुला हुने

काठमाडौं, असोज २४ : पुनर्निर्माण सम्पन्न भएपछि यस वर्षको तिहारमा सर्वसाधारणका लागि ऐतिहासिक रानीपोखरी खुला हुने भएको छ।यही असोज पहिलो साता निर्माण सम्पन्न...
तिहारमा रानीपोखरी सर्वसाधारणका लागि खुला हुने

काठमाडौं, असोज २४ : पुनर्निर्माण सम्पन्न भएपछि यस वर्षको तिहारमा सर्वसाधारणका लागि ऐतिहासिक रानीपोखरी खुला हुने भएको छ।

यही असोज पहिलो साता निर्माण सम्पन्न भएको रानीपोखरीको दशैँअघि नै राष्ट्रप्रमुखबाट उद्घाटन गर्ने तयारी रहेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले बताएको छ। गोर्खा भूकम्पका कारण पूर्णरूपमा भत्किएको रानीपोखरीमा अहिले सरसफाइ र बत्ती राख्ने काम भइरहेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सम्पदाविज्ञ राजुमान मानन्धरले बताए।  

भूकम्पपछि  पाँच वर्षसम्म हरेक वर्ष तिहारमा सर्वसाधारणले बालगोपालेश्वर मूर्तिलाई पोखरीमा रहेको पुलको मुखमा राखी दर्शन गर्ने गरेका थिए। पोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिरमा यही असोज १५ गते बिहान ८ बजेको साइतमा  मुख्य एक र अन्य चार गरी पाँच स्थानमा गजुर राखिसकिएको छ। मुख्य गजुर १२३ किलोग्राम तौलको तामाले बनेको हो। गजुरको बाहिरी भागमा भने सुन लेपन गरिएको छ।

ऐतिहासिक सम्पदा निर्माणका लागि शुरुमा काठमाडौँ महानगरपालिकाले पुनःनिर्माण गर्ने भने पनि कहिले पुरातत्व विभागसँग त कहिले कामपामा नै आन्तरिक कुरा नमिल्दा तीन वर्षसम्म  पुनःनिर्माणको काम अघि बढ्न सकेको थिएन। अन्ततः पुनःनिर्माणको काम प्राधिकरणलाई जिम्मा दिइएको थियो।

भूकम्प गएकै वर्ष माघ २ गते राष्ट्रिय भूकम्प दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले भूकम्पले क्षति पुर्‍याएको सम्पदा पुनःनिर्माणको शुरुआत रानीपोखरीबाटै गरेकी थिइन्। प्रताप मल्लका छोरा चक्रवर्तेन्द्रको निधनपछि रानीको चित्त बुझाउन विसं १७२७ मा रानीपोखरीको निर्माण गराइएको शिलालेखमा उल्लेख छ। पोखरीको बीचमा त्यसैबेला बालगोपालेश्वर मन्दिर स्थापना गरिएको हो।

प्रताप मल्लले आफ्ना छोरा चक्रवर्तेन्द्रका नाममा यो पोखरी बनाएका हुन्। पोखरीको निर्माण  करिब पाँच वर्षभित्र अर्थात् नेसं ७८९ (विसं १७२५) मा सम्पन्न भएको थियो। पोखरीमा १०८ तीर्थको जल हालिएको इतिहासकार बताउँछन्। प्रताप मल्लले निर्माण गर्दा पोखरीको चारैतिर चार मन्दिर स्थापना गर्न लगाएको पाइन्छ। उत्तरपश्चिम कुनामा शक्तिसहितको भैरवको मन्दिर, उत्तरपूर्व कुनामा भैरवको मन्दिर, दक्षिणपूर्व कुनामा देवीको मन्दिर र दक्षिणपश्चिममा सोह्रहाते गणेश स्थापना गरेको देखिन्छ। रासस

प्रकाशित मिति: १९:०२ बजे, शनिबार, असोज २४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्