कांग्रेसका पूर्वकोषाध्यक्ष प्रसाईँको कोरोना संक्रमणबाट निधन
झापा, असोज २३ : नेपाली कांग्रेसका पूर्वकेन्द्रीय कोषाध्यक्ष एवम् प्रजातान्त्रिक योद्धा रामबाबु प्रसाईँको कोभिड –१९ को संक्रमणबाट आज निधन भएको छ। काठमाडौंँको ओम अस्पतालमा...
झापा, असोज २३ : नेपाली कांग्रेसका पूर्वकेन्द्रीय कोषाध्यक्ष एवम् प्रजातान्त्रिक योद्धा रामबाबु प्रसाईँको कोभिड –१९ को संक्रमणबाट आज निधन भएको छ।
काठमाडौंँको ओम अस्पतालमा आज अपराह्न १ः३० बजेतिर ९९ वर्षका उमेरमा उनको निधन भएको हो। श्वासप्रश्वासमा समस्या आएपछि उनलाई ६ दिनअघि उपचारका लागि अस्पताल भर्ना गरिएको कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बताए। विसं २०४८ को आठौंँ महाधिवेशनपछि केन्द्रीय कोषाध्यक्ष भएका उनी विसं २०४४ मा पार्टीको झापा जिल्ला कार्यसमितिका सभापतिसमेत थिए।
विसं १९७८ माघ १५ गते जन्मिएका उनी पञ्चायती निरङ्कुश शासनविरुद्ध संघर्षका क्रममा जेलनेल र भारत निर्वासित हुनुपरेको थियो। विसं २०३३ कात्तिक १६ गते मेलमिलापको नीति लिएर कांग्रेसका संस्थापक नेता बिपी कोइरालासँगै प्रसाई निर्वासनबाट स्वदेश फर्किएका थिए।
विसं २०१५ को प्रथम आमनिर्वाचनमा कांग्रेसबाट टिकट नपाएपछि उनी झापामा स्वतन्त्र उम्मेद्वार बने। त्यसबेला कांग्रेसका उम्मेद्वार फत्तेबहादुर बुढाथोकीसँग उहाँ पराजित भएका थिए। कांग्रेस लोकतान्त्रिक गणतन्त्रको बाटातिर लागेपछि उनले बाटो बिराएको जनाउँदै पार्टी परित्याग गरे।
उनकी पत्नी, तीन छोरा टोरुप, डोजुप र गिसुप तथा दुई छोरी पनेखम र खेतिम छन्। कांग्रेस झापाका सभापति उद्धव थापाले आइतबारदेखि पार्टीको जिल्ला कार्यालयमा शोकपुस्तिका राखिने बताए। उनको निधनमा कांग्रेसका प्रवक्ता शर्माले शोक व्यक्त गर्दै ट्वीट गरेका छन्। ‘‘अलग्गै स्वभाव, विचार र शैलीले परिचित उहाँ जमानाको क्रान्तिकारी, वीपी कोइरालाप्रति निष्ठावान् अनि किसुनजीको कार्यसमितिमा केन्द्रीय कोषाध्यक्ष हुनुहुन्थ्यो,’ कांग्रेसका प्रवक्ता शर्माको ट्वीटमा लेखिएको छ, ‘‘शान्ति मिलोस् उहाँको आत्मालाई स्वर्गमा।’











