Kathmandu Press

सांस्कृतिक संस्थानले तोड्यो सीएम ट्रेडिङसँगको ३० वर्षे सम्झौता

काठमाडौं, असोज २२ :  सांस्कृतिक संस्थानले सीएम ट्रेडिङ इन्टरप्राइजेज प्रालिसँग ३० वर्षे सम्झौता भंग गर्दै  नेपाल दुरसञ्चार प्राधिकरणसँग नयाँ सम्झौता गरेको छ। संस्कृति, पर्यटन...
सांस्कृतिक संस्थानले तोड्यो सीएम ट्रेडिङसँगको ३० वर्षे सम्झौता

काठमाडौं, असोज २२ :  सांस्कृतिक संस्थानले सीएम ट्रेडिङ इन्टरप्राइजेज प्रालिसँग ३० वर्षे सम्झौता भंग गर्दै  नेपाल दुरसञ्चार प्राधिकरणसँग नयाँ सम्झौता गरेको छ। 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको उपस्थितिमा  संस्थानका अध्यक्ष प्रेमनाथ अधिकारी, महाप्रबन्धक अशोकप्यासी राई र प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालबीच बिहीबार सम्झौता आदानप्रदान गरिएको हो।

काठमाडौंको जमलस्थित संस्थानको स्वामित्वमा रहेको सपिङ कम्प्लेक्स तथा अन्डरग्राउण्ड पार्किङ क्षेत्र सञ्चालन तथा व्यवस्थापनका लागि सीएम ट्रेडिङ र संस्थानबीच २०६४ सालमा ३० वर्षे सम्झौता भएको थियो। अत्यन्त न्यून दरभाउमा सम्झौता भएको भन्दै सुरुदेखि नै उक्त सम्झौतामाथि प्रश्न उठ्दै आएको थियो।

मन्त्री भट्टराईले नयाँ सम्झौताले सांस्कृतिक संस्थान आत्मनिर्भरतर्फ अघि बढेको बताए।  सीएम ट्रेडिङसँगको सम्झौताअनुसार आर्थिक वर्ष २०७७–०७८ सम्म आइपुग्दा प्रतिवर्गफिट मासिक २० रुपैयाँमात्र थियो। सोही स्थान नेपाल दुरसञ्चार प्राधिकरणसँग मासिक प्रतिवर्गफिट ७० रुपैयाँ भाडादर कायम गरी सम्झौता भएको छ।

सांस्कृतिक संस्थान सञ्चालन समितिका अध्यक्ष प्रेमनाथ अधिकारीले संस्थानको समृद्धिका लागि पुरानो सम्झौता बाधक भएको बताए। सी. एम. ट्रेडिङसँग भएको सम्झौता भंग गरी नेपाल दुरसञ्चार प्राधिकरणसँग जीटुजी मोडेलमा नयाँ सम्झौता गरेको महाप्रबन्धक अशोकप्यासी राईले बताए। 

‘संगीन अवस्थामा गुज्रिरहेको संस्थानको समृद्धिका लागि निर्मम भएर त्यस्ता समस्याको समिक्षा गर्न जरुरी छ’, उनले भने। गत पुसदेखि कार्यभार समालेका महाप्रबन्धक राईले सांस्कृतिक संस्थान सुधारका लागि २२ बुँदे कार्ययोजना प्रस्तुत गर्दै सी. एम. ट्रेडिङसँग भएको असन्तुलित सम्झौतालाई पुनरावलोकन गरिने पनि उल्लेख गरेका थिए।

सी. एम. ट्रेड्रिङसँगको सम्झौता अनुसार आर्थिक वर्ष ०७७–- मा संस्थानले लगभग एक करोड ३० लाख रुपैयाँ प्राप्त गथ्र्यो भने दुरसञ्चार प्राधिकरणबाट दुई करोड पाँच लाख रुपैयाँ प्राप्त गर्ने भएको छ। नयाँ सम्झौतामा प्रत्येक दुई वर्षमा १० प्रतिशतका दरले भाडा वृद्धि हुने पनि उल्लेख छ। 

१० वर्षे नयाँ सम्झौता अनुसार आर्थिक वर्ष २०८७-८८ मा संस्थानले प्राधिकरणबाट वार्षिक तीन करोड आठ लाख रुपैयाँ प्राप्त गर्नेछ। 
 

प्रकाशित मिति: २३:०४ बजे, बिहीबार, असोज २२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्