Kathmandu Press

नयाँ पाठ्यक्रम लागू गर्नुअघि शिक्षकलाई अभिमुखीकरण दिन माग

नयाँ पाठ्यक्रम लागू गर्नुअघि शिक्षकलाई अभिमुखीकरण दिन माग

काठमाडौं, असोज २२ : नेपाल शिक्षक महासंघले कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम लागू गर्नुपूर्व शिक्षकलाई अभिमुखीकरण गर्न माग गरेको छ।

सत्ताइसौँ विश्व शिक्षक दिवसका अवसरमा शिक्षा पत्रकार समाजले बिहीबार गरेको भर्चुअल छलफलमा महासंघका राष्ट्रिय अध्यक्ष बाबुराम थापाले आफूहरु नयाँ पाठ्यक्रम हुनुपर्छ भन्ने पक्षमा रहे पनि शिक्षकलाई तयारी नगराउँदा यसको सही कार्यान्वयन हुन नसक्ने स्पष्ट पारे।

उनले सो तहमा कार्यान्वयनमा ल्याउन नसकिने खालका धेरै ऐच्छिक विषय समावेश नगर्न पनि आग्रह गरे। नेपाल सरकारको राष्ट्रिय पाठ्यक्रम मूल्याङ्कन परिषद्ले २०७६ भदौ २० गते संविधान र संघीयता अनुकूल हुने गरी विद्यालय तहको राष्ट्रिय पाठ्यक्रमको नयाँ प्रारुप ल्याएको थियो।

नयाँ व्यवस्था अनुसार कक्षा १० पछि माध्यमिक शिक्षाको निरन्तरतास्वरुप कक्षा ११ लाई जोड्दै ११ र १२ कक्षामा सामाजिक अध्ययन तथा जीवनोपयोगी विषयलाई अनिवार्य बनाइएको छ। पाठ्यक्रम विकास केन्द्रले यही शैक्षिकसत्रदेखि यसको कार्यान्वयन सुरु भएको जनाइसकेको छ।

अध्यक्ष थापाले नयाँ पाठ्यक्रम प्रणालीअनुसार शिक्षकलाई सेवा आयोगको परीक्षामा भाग लिने योग्यताबारे तालमेल मिलाउन शिक्षा सेवा आयोगको नियमावाली परिवर्तन चाँडो गर्न पनि माग गरे। उनले विद्यालय समायोजन  हुँदा शिक्षक कर्मचारीलाई हटाउन नहुने र दरबन्दी मिलान गर्दा प्रधानाध्यापकलाई दरबन्दी कायम नगर्ने सहमति कार्यान्वयन हुनुपर्ने जनाउँदै शिक्षक विद्यार्थी अनुपातको नयाँ मापदण्ड हिमाल, पहाड र तराईमा क्रमशः ३०, ३५ र ४० हुनुपर्ने बताए।

छलफलमा नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष लक्ष्मण शर्माले शैक्षिक रुपान्तरणका लागि शिक्षक र शिक्षा पत्रकार कुनै न कुनै रुपमा एउटा बिन्दुमा उभिनुपर्नेमा जोड दिए। यस्तै, एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारीले शिक्षक समुदाय र शिक्षा पत्रकारिता क्षेत्रबीचको निरन्तर जागरुता नभएमा शैक्षिक रुपान्तरण सम्भव नहुने बताए। 

पत्रकार समाजका अध्यक्ष प्रकाश सिलवालले कोभिड– १९ पछिको स्थितिमा वैकल्पिक माध्यमबाट भइरहेको सिकाइ प्रक्रियाबारे वस्तुगत अध्ययन र सम्प्रेषणका लागि शिक्षक र पत्रकारिता क्षेत्रले सहकार्य गर्नुपर्नेमा जोड दिएका थिए।
 

प्रकाशित मिति: २१:२० बजे, बिहीबार, असोज २२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्