Kathmandu Press

प्रहरी अस्पतालमा सार्वसाधारणको निःशुल्क उपचार

राजविराज, असोज २२ : प्रदेश २ अन्तगर्त  सप्तरीको रुपनीस्थित पूर्वक्षेत्रीय प्रहरी अस्पतालमा सर्वसाधारणको निःशुल्क उपचार सेवा सुरु गरिएको छ। यो अस्पतालमा प्रहरी सुरक्षाकर्मीको...
प्रहरी अस्पतालमा सार्वसाधारणको निःशुल्क उपचार

राजविराज, असोज २२ : प्रदेश २ अन्तगर्त  सप्तरीको रुपनीस्थित पूर्वक्षेत्रीय प्रहरी अस्पतालमा सर्वसाधारणको निःशुल्क उपचार सेवा सुरु गरिएको छ। यो अस्पतालमा प्रहरी सुरक्षाकर्मीको उपचार गर्ने लक्ष्य राखिए पनि अहिले सर्वसाधारण समेतका लागि उपचार गर्न थालिएको हो। सर्वसाधारणको उपचार निःशुल्क भइरहेको अस्पतालका प्रमुख प्रहरी नायव उपरिक्षक डा सुरेन्द्र साहले जानकारी दिए।

राजविराज नगरपालिका–३ निवासी जग्गादाता जोगेन्द्र भगत र उनकी पत्नीले आफ्नै जग्गामा २५ बेडको अस्पताल निर्माण गरिदिएका थिए। तत्कालीन प्रहरी प्रमुख उपेन्द्रकान्त अर्यालले २०७३ साल माघ ३ गते सो अस्पतालको उद्घाटन गरेका थिए। 

अहिले प्रहरीको उपचारका साथै सर्वसाधारणको उपचारसमेत यो अस्पतालले गर्न थालेपछि त्यहाँका जनता खुशी भएको स्थानीय नर्मदेव यादवको भनाइ छ। प्रत्येक दिन १२ देखि १५ सर्वसाधारणको उपचार थालिएको जानकारी दिँदै  सर्वसाधारणको उपचार पनि निःशुल्क गर्दै आएको अस्पतालका प्रमुख डीएसपी डा साहले बताए।   

पूर्व–पश्चिम राजमार्गसँग जोडिएर रहेको यो अस्पतालमा जनरल सेवाबाहेक मधुमेह र बाथको छुट्टै उपचार हुँदै आएको छ। जनरलमा नाक, कान, घाँटी, छाती, पेटसम्बन्धी रोगको उपचारसमेत भइरहेको अस्पताल प्रमुख डा साहले बताए। अस्पताल प्रमुख डा साहले भने, ‘उपचार गराउन आउने सर्वसाधारणलाई न त पूर्जी नै कटाउनुपर्छ नत ल्याब जाँचकै शुल्क तिर्नुपर्छ, अस्पतालले एक्सरे पनि निःशुल्क नै रहेको छ।’

अस्पतालको आफ्नै ल्याब, डिजिटिल एक्सरे, भिडियो एक्सरे रहेको छ। डेन्टल विभाग छुट्टै रहने बताउँदै रगतको हरेक किसिमको जाँच यहाँ हुने गरेको उनको भनाइ छ। ‘दाँत उखाल्ने, सफा गर्ने ठूलो मेसिन यहाँ छ। दन्त चिकित्सकको दरबन्दी भइसकेको छ,’ डा साहले भने, ‘केही दिनभित्रै चिकित्सक आउनुहुनेछ।’ अस्पतालमा घाउ सफा गर्नेदेखि लिएर सानो शल्यक्रियासमेत गरिँदै आएको छ।

अस्पतालमा एक जनरल फिजिसियन, एक विशेषज्ञ, दुई स्टाफ नर्स, दुई हेल्थ असिस्टेन्ट र पाँच अहेब कार्यरत छन्। अस्पतालमा दश सुरक्षाकर्मीले काम गर्दै आएका छन्। यसबाहेक दुई जना दन्त विभागका टेक्निसियन पनि छन्।

अस्पतालमा चार बेड आकस्मिक र दुई बेड प्रसूति गराउन राखिएको छ। अन्य १९ बेड जनरलका लागि छुट्याइएको छ। अस्पतालका प्रमुख डा साहले प्रहरी अस्पतालको सेवा राम्रो बनाउने आफ्नो सोच रहेको बताएका छन्।

प्रकाशित मिति: १८:३९ बजे, बिहीबार, असोज २२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्