चन्दननाथको बहुमूल्य दाहिने शंख चार वर्षपछि भेटियो
जुम्ला, असोज २२ : चन्दननाथ मन्दिरबाट चोरी भएको चार वर्षपछि चन्दननाथको बहुमूल्य दाहिने शंख भेटिएको छ।विसं २०७३ मंसिर ११ गते चोरी भएका मूर्तिको...
जुम्ला, असोज २२ : चन्दननाथ मन्दिरबाट चोरी भएको चार वर्षपछि चन्दननाथको बहुमूल्य दाहिने शंख भेटिएको छ।
विसं २०७३ मंसिर ११ गते चोरी भएका मूर्तिको अनुसन्धानको क्रममा भेटिएको प्रहरीले जनाएको छ। तीन दिन अघि दुई थान मूर्तिसहित पक्राउ परेका तीन आरोपितको सहयोगमा बुधबार चन्दननाथ नगरपालिका १० बोहोरागाउँ जुम्लाको खोलापानेस्थित एक ओडारमुनि राखिएको अवस्थामा दाहिने शंख फेला परेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए।
मूर्ति चोरीको आरोपमा पक्राउ परेका एक व्यक्तिको सहयोगमा शंख लुकाएको स्थान पत्ता लागेको उनले बताए। उक्त स्थानमा रातो प्लाष्टिकभित्र सेतो प्लाष्टिक र सेतो प्लाष्टिकभित्र फाईवरको क्वालिटी रङ्गको झोलामा बेरेर राखेको अवस्थामा दाहिने शङ्ख भेटिएको हो। थप अनुसन्धान भइरहेको डिएसपी काफ्लेले बताए।
तीन दिन अघि पक्राउ परेका चन्दननाथ नगरपालिका १० का स्थानीय सुशील बिष्टको खेतको आलीनेर सुकेको घाँसको थुप्रोमा दोसल्लामा बेरिएको अवस्थामा राखिएका दुई थान मूर्ति र शंकास्पद बिष्टसहित तीन जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान जारी राखेको छ। यो घटनाबाट चार वर्ष अघि चोरी भएका चन्दननाथका मूर्ति चोरीबारे खुल्न थालेको प्रहरीले जनाएको छ।
यो चार वर्षको अवधिमा २०७३ पुस १९ देपालगाउँको खोलामा १७ थान, २०७६ माघ ६ गते चन्दननाथ नगरपालिका–१ दानसाँघुस्थित खेतको आलीमा १८ केजीको चाँदीको एक थान र यही असोज २० गते बोहोरागाउँमा दुई थान मूर्तिहरु बेबारिसे अवस्थमा भेटिएका थिए। विसं २०७३ मङ्सिर ११ गते चन्दननाथ मन्दिरबाट एक दाहिने शङ्खसहित २१ थान मूर्ति चोरी भएका थिए। (रासस)








![साउनकाे पहिलाे दिन पशुपतिनाथमा दर्शनार्थीको घुइँचो [तस्बिहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-2-1784267228.jpg)


