Kathmandu Press

भरतपुर अस्पतालमा प्लाज्मा थेरापीबाट कोरोनाको सफल उपचार

भरतपुर, असोज २१ : चितवनको भरतपुर अस्पतालमा प्लाज्मा थेरापीबाट कोरोना सङ्क्रमित बिरामीको सफल उपचार गरिएको छ।भरतपुर महानगरपालिका-१२ का ५१ वर्षीय पुरुषको अस्पतालले प्लाज्मा...
भरतपुर अस्पतालमा प्लाज्मा थेरापीबाट कोरोनाको सफल उपचार

भरतपुर, असोज २१ : चितवनको भरतपुर अस्पतालमा प्लाज्मा थेरापीबाट कोरोना सङ्क्रमित बिरामीको सफल उपचार गरिएको छ।

भरतपुर महानगरपालिका-१२ का ५१ वर्षीय पुरुषको अस्पतालले प्लाज्मा थेरापीबाट सफल उपचार गरेको हो। गत भदौ ३० गते कोरोना पोजिटिभसहित अस्पताल भर्ना भएका उनमा ज्वरो, खोकी र स्वासप्रश्वासको समस्या देखिएको थियो।

उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि कोभिड आइसियुमा भेन्टिलेटरको सहायतामा उपचार गरिएको अस्पतालका प्लाज्मा थेरापी कोअर्डिनेटर कन्सल्टेन्ट फिजिसियन डा कल्याण सापकोटाले जानकारी दिए। पुरुषलाई असोज ७ गते प्लाज्मा थेरापीबाट उपचार गरिएको उनले बताए।

अस्पतालले प्लाज्मा थेरापी उपचारमा पहिलो बिरामीमै सफलता पाएको डा सापकोटाले जानकारी दिए। करिब १५ दिन आईसीयू र चार दिन वार्डमा उपचारपछि पुरुष निको भएर मङ्गलबार घर फर्किएका छन्। प्लाज्मा थेरापी उपचार विधिबाट कोरोना सङ्क्रमित बिरामीको ज्यान जोगाउन सफल भएपछि अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र अस्पताल विकास समितिका पदाधिकारीमा उत्साह र थप हौसला थपिएको छ। अस्पतालले अन्य सङ्क्रमित भएर निको भएकालाई पनि प्लाज्मा दान गर्न आग्रह गरेको छ। 

कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु नजिक पुगेका बिरामी प्लाज्मा थेरापी उपचार विधिबाट निको भएर घर फर्किंदा उपचारमा संलग्न चिकित्सकदेखि प्लाज्मा दिने दातासमेत उत्साहित र खुशी देखिएका थिए। उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मीको अथक प्रयास र लगनशीलताले जटिल अवस्थामा पुगेका कोरोना संक्रमितलाई बचाउन सकिएको अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले बताए। 

प्रकाशित मिति: २१:०४ बजे, बुधबार, असोज २१, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्