Kathmandu Press

टोर्नाडो पीडितहरू अझै पालमुनि, केन्द्र कि प्रदेशले घर बनाइदिने?

पर्सा, वैशाख १४ : झण्डै एक महिनाअघि आएको विनाशकारी टोर्नाडोबाट प्रभावित बारा र पर्साका नागरिकहरू पीडामाथि पीडा खेप्न बाध्य भएका छन्। 

ट....

टोर्नाडो पीडितहरू अझै पालमुनि, केन्द्र कि प्रदेशले घर बनाइदिने?
जियालाल साह

पर्सा, वैशाख १४ : झण्डै एक महिनाअघि आएको विनाशकारी टोर्नाडोबाट प्रभावित बारा र पर्साका नागरिकहरू पीडामाथि पीडा खेप्न बाध्य भएका छन्। 

टोर्नाडो पीडितहरू राहतस्वरुप पाएको टेन्टमा चैत–बैशाख महिनाको प्रचण्ड घाम खेप्न बाध्य छन्। त्यसमाथि हरेक दिनजसो भइरहेको भारी वर्षाका कारण टेन्टमा रात बिताउनु मुश्किल परेको उनीहरू बताउँछन्। 
परिवार सदस्य संख्या यकिन नगरी हचुवाको भरमा टेन्ट बाँडिएकाले कतिपय परिवारका भाइबुहारी, नन्द र बालबच्चा सँगै बस्नुपर्ने अवस्था पनि छ। 

फेटा गाउँपालिका–६ की  टोर्नाडो पीडित जैमुन नेसा भन्छिन्, ‘कहिले गर्मी, कहिले पानी। टेन्टमै खाना पकाउन, सुत्न मुश्किल भयो।’

टोर्नाडोले फेता गाउँका भएभरका रुख–विरुवाहरू उडाइदियो। रुख बिरुवा नहुँदा घामबाट ओत लाग्ने ठाउँसमेत छैन। यस्तो उजाड गाउँमा पातलो टेन्टमा बस्नु गाह्रो परेको टोर्नाडो पीडितहरू बताउँछन्।

टोर्नाडो पीडित लागि प्रदेश सरकारले प्रति परिवार रु ३ लाख र संघीय सरकारले प्रति परिवार रु ५ लाख दिने आश्वासन दिएका छन्। तीन महिनाभित्र घर बनाइदिने घोषणा पनि गरेका छन्। 

तर, प्रदेश सरकार कि केन्द्र कसले घर बनाइदिने भन्ने अझै  टुङ्गो लागेको छैन। सुरुमा प्रदेश सरकारले टोर्नाडो पीडितका लागि घर बनाइदिने घोषणा गरेको थियो। त्यसपछि प्रधानमन्त्री केपी ओलीले केन्द्र सरकारले नै घर बनाइदिने घोषणा गरे। 

तर, न संघीय न प्रादेशिक सरकारले घर बनाउने सुरसार कसेको छ। यसले गर्दा तीन महिनाभित्र ओत पाउने आशा मर्दै गएको छ।

प्रदेश र केन्द्र सरकारले घर बनाइदिने भनेकाले स्थानीय निकायले केही गर्न नपाएको फेटा गाउँपालिकाका अध्यक्ष अमिरिलालको गुनासो छ। 

गत चैत १७ गते आएको टोर्नाडोले २२ महिला र ५ पुरुष गरी २७ जनाको मृत्यु भएको थियो। हावाहुरीले बारामा मात्रै १३ सय ६५ घरमा पुर्ण रुपले क्षति पुगेको थियो, जसबाट २३ करोड ४४ लाख ७६ हजार बराबरको क्षति भएको थियो।

प्रकाशित मिति: १७:३७ बजे, शनिबार, वैशाख १४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्