ललितपुरमा तीन हजार कोरोना संक्रमित
ललितपुर, असोज २० : ललितपुरमा कोरोना संक्रमितको संख्या तीन हजारभन्दा बढी पुगेको छ। जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका अनुसार जिल्लामा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या...
ललितपुर, असोज २० : ललितपुरमा कोरोना संक्रमितको संख्या तीन हजारभन्दा बढी पुगेको छ। जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका अनुसार जिल्लामा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजार २६२ पुगेको छ। त्यसैगरी अहिलेसम्म कोरोना निको भई डिस्चार्ज हुनेको सङ्ख्या एक हजार ८०३ रहेको छ।
यसैगरी जिल्लामा सक्रिय संक्रमितको संख्या एक हजार ४३० र मृतकको संख्या २९ पुगेको जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा खगेश्वर गेलालले बताए। उनले भने, ‘स्वास्थ्य मन्त्रालय र जिल्लाको तथ्याङ्कमा केही फरक देखिएको छ। ललितपुरको ठेगाना राखेर अन्य जिल्लामा बसोबास गर्ने मानिसको तथ्याङ्क पाइएको हुँदा कूल सङ्क्रमितको सङ्ख्यामा केही फरक देखिएको हो।’ त्यसलाई खोजेर मिलाउने काम गरिने गेलालले जानकारी दिए।
ललितपुर महानगरपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार ९८८ पुगेको छ। तीमध्ये कोरोना निको भई डिस्चार्ज हुनेको सङ्ख्या एक हजार ८८, सक्रिय सङ्क्रमित ८७९ र मृतक २१ रहेको महानगरपालिकाका प्रवक्ता राजु महर्जनले जानकारी दिए। उनले भने, ‘सक्रिय सङ्क्रमितमध्ये ८१२ होम आइसोलेसनमा र ६७ जना अस्पताल रहेका छन्।’
गोदावरी नगरपालिकामा सङ्क्रमित सङ्ख्या २०३ रहेको छ। तीमध्ये कोरोना निको भई डिस्चार्ज हुनेको सङ्ख्या १३२, होम आइसोलेसनमा ५७, बडिखेल आइसोलेसनमा छ र मृतकको सङ्ख्या तीन रहेको नगरपालिकाले जनाएको छ।
महालक्ष्मी नगरपालिकामा सङ्क्रमित सङ्ख्या ४०८ पुगेको छ। तीमध्ये कोरोना निको भई डिस्चार्ज हुनेको सङ्ख्या २३५ र मृतक दुई रहेका सूचना प्रविधि अधिकृत सन्तोष पोखरेलले बताए। उनले भने, ‘सक्रिय सङ्क्रमित १७१ मध्ये २२ अस्पताल र १४९ होम आइसोलेसनमा रहेका छन्।’ त्यस्तै महाङ्काल गाउँपालिकामा सङ्क्रमित सङ्ख्या १२ रहेको छ। तीमध्ये कोरोना निको भई डिस्चार्ज हुनेको सङ्ख्या सात रहेका छन् भने एक जना अस्पताल र चार जना होम आइसोलेसनमा रहेको स्वास्थ्य संयोजक ज्ञानेन्द्र चन्दले बताए।
कोञ्ज्योसोम गाउँपालिकामा पनि कूल सङ्क्रमित सङ्ख्या १२ पुगेको छ। तीमध्ये चार सक्रिय र बाँकी आठ जना कोरोना निको भई डिस्चार्ज भइसकेको संयोजक नवलकिशोर महतोले बताए। वागमती गाउँपालिकामा कूल १२ सङ्क्रमितमध्ये होम क्वारेन्टिनमा पाँच र कोरोना निको भई डिस्चार्ज हुनेको सङ्ख्या सात रहेको संयोजक नवराज तिमिल्सिनाले बताए।
ललितपुरको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, स्टार, प्रयोगशाला, बीएण्डबी र आनन्द वन अस्पतालले कोरोना परीक्षण गर्ने गरेका छन्। ललितपुरमा २२१ आइसोलेसन र ४०८ क्वारेन्टाइन तयार भएको जनस्वास्थ्य कार्यालय ललितपुरका प्रयोगशाला प्राविधिक उपेन्द्र लामिछानेले जानकारी दिए।









![साउनकाे पहिलाे दिन पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो [तस्बिहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-2-1784267228.jpg)

