अनलाइन पत्रकार सञ्जाल गठन
काठमाडौं, असोज १९ : स्वरोजगार अनलाइन मिडियाको व्यावसायिक हकहितका लागि क्रियाशील हुने उद्देश्यले अनलाइन पत्रकार सञ्जाल नेपाल (ओजोन)को गठन गरिएको छ।
आजभोलि डट कमका प्रकाशक तथा सम्पादक लोकराज अवस्थीको संयोजकत्वमा १३ सदस्यीय संयोजन समिति गठन गरिएको हो। समितिको सदस्यमा शिवराज योगी, पदमराज जोशी, शिवराज खड्का, माधवप्रसाद घिमिरे, निरोज तोलाङे, हरिबहादुर परियार, सरिता तिमल्सिना पँगेनी, विष्णुप्रसाद बेल्वासे, गोपाल बराइली, मीन बम, कमला हमाल र श्रवणप्रसाद शाह रहेका छन्।
अनलाइन सञ्चार संस्था सञ्चालन तथा कार्यरत सञ्चारकर्मीलाई एकीकृत तथा सङ्गठित गर्दै समग्र अनलाइन पत्रकारिता हकहितका लागि सञ्जालको गठन गरिएको संयोजक अवस्थीले जानकारी दिए। अनलाइन सञ्चालक तथा सञ्चारकर्मीले भोग्दै आएका कानूनी तथा व्यावसायिक समस्या र चुनौतीलाई समाधानको पहल गर्न तथा सरोकार निकायबीच समन्वय गरेर अगाडि बढ्ने उनको भनाइ छ।
अनलाइन पत्रकारिताको व्यवसायिक गुणस्तर र क्षमता अभिवृद्धिका लागि पहल गर्ने सञ्जालको उद्देश्य छ। सञ्जालले देशभर अनलाइन पत्रकारिताको व्यवसायिक गुणस्तर र क्षमता अभिवृद्धिका लागि पहल गर्ने, सूचना प्रविधिका क्षेत्रमा आएका नवीनतम प्रविधिको प्रयोगमा पत्रकारलाई अभ्यस्त गराउन पहल गर्ने, अनलाइन पत्रपत्रिका दर्ता, नवीकरण तथा आबद्धता गराउने काममा सरकारी तहमा हुने अनावश्यक कानूनी झमेला, झन्झट र विलम्बमा सहजीकरण गर्न पहल गर्ने तथा अनलाइन सञ्चारमाध्यमका लागि न्यायोचितरुपमा विज्ञापन वितरणका लागि पहल र दबाब सिर्जना गर्नेछ।









![साउनकाे पहिलाे दिन पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो [तस्बिहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-2-1784267228.jpg)

