Kathmandu Press

‘कोरोना संक्रमण ७० प्रतिशत काठमाडौंमा, नियन्त्रणमा सरकार असफल’

‘काठमाडौंमा कोराना संक्रमितको संख्या बढ्नुको पछाडि सरकार र जनता दुवैको कमजोरी छ। लकडाउन खुलेपछि बाहिरी जिल्लाबाट काठमाडौं भित्रिनेलाई त्यत्ति कडाइका साथ अनुगमन भएन,’वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले भने।
‘कोरोना संक्रमण ७० प्रतिशत काठमाडौंमा, नियन्त्रणमा सरकार असफल’

काठमाडौं, असोज १९ : सरकारले कोरोना रोकथाम र नियन्त्रणमा चुस्त रुपका काम गर्न नसक्दा काठमाडौं उपत्यकामा मात्रै ३० हजार कोरोना संक्रमित  र १ सय ५४ जनाको कोरोनाकै कारण मृत्यु भएको छ।

कोरोना संक्रमतिको संख्या पछिल्लो दुई एक महिनामा ह्वात्तै बढेको हो। देशभरका संक्रमितमध्ये काठमाडौं उपत्यकाको संख्या मात्रै ७० प्रतिशतका हाराहारीमा छ। विज्ञहरु पछिल्लो कोरोना संक्रमणको पारो र प्याटर्न हेर्दा उपत्यका कोरोनाको गम्भीर जोखिममा अघि बढेको बताउँछन्।  

पछिल्ला केही दिनदेखि दैनिक एक हजारभन्दा बढी नयाँ संक्रमित उपत्यकामा थपिदै गएका छन्, जुन आफैँ कोरोना परीक्षण गर्न आवश्यक देखेर ल्याबसम्म पुगेकाको मात्रै तथ्यांक हो। कोरोना संक्रमणमा सरकारको व्यवस्थापन कति फितलो छ भन्ने प्रधानमन्त्री निवास बालुवाटारका अधिकांश कर्मचारी र सुरक्षाकर्मीमा कोरोना पोजेटिभ देखिएर पुष्टि गरेको छ।

Hardik ivf

प्रधानमन्त्रीका तीन सल्लाहकार, स्वकीय सचिव र सवारी चालक तथा सुरक्षा गार्डमा कोरोना पोजेटिभ देखिएको छ । यो ट्रेन्डले उपत्यकामा कोरोनाको संक्रमण नियन्त्रण बाहिर पुगेको पुष्टि भएको विज्ञहरुको ठहर छ।  सबैभन्दा उच्च सतर्कता अपनाइएको प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीका सल्लाहकारहरु, स्वकीय सचिव र सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएको कोरोना नियन्त्रणमा सरकार पूर्ण असपल भएको पुष्टि हो।

सरकारले कोरोना नियन्त्रण तथा रोकथामका लागि उचित नीति कडाइका साथ लागू गर्न नसक्दा र नागरिकले जनस्वास्थ्यका मापदण्ड पालना नगर्दा उपत्यका कोरोनाको इपिसेन्टर बनेको विज्ञहरुको भनाइ छ।  

नेपाल मेडिकल काउन्सिलका अध्यक्ष समेत रहेका वरिष्ठ चिकित्सक डा. भगवान कोइराला सर्वसाधरण र सरकार दुवै सजग नहुँदा उपत्यकाले यो नियति भोग्नु परेको बताउँछन्।

‘कोरोना कसरी फैलन्छ ? भन्ने कुरामा पनि हामी पहिलेदेखि नै जनाकार थियौँ तर सर्वसाधारण र सरकार दुवै सजग नभएपछि कोरोना फैलिनेबाहेक अरु कुनै विकल्प थिएन। फलस्वरुप अहिले कोरोना संक्रमितको संख्या दिन प्रति दिन बढिरहेको छ,’ कोइरालाले काठमाडौं प्रेससँग भने, ‘सार्वजनिक स्थल र पसलमा मानिसहरुको भीड बढिरहेको छ। सरकारले नियन्त्रणका लागि केही गर्न सकेन।’

वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन भिडभाड बढ्दा लक्षण नभएका संक्रमितले संक्रमण उपत्यकामा फैलाइरहेको बताउँछन्।

‘लकडाउन खुलेपछि मानिसको आवतजावत बढी भयो। काठमाडौंमा कोरोना संक्रमण फैलिनुको प्रमुख कारण यही हो। अहिले विशेषगरी लक्षण नभएका मानिसहरुले नै कोरोना सार्ने गरिरहेका छन्,’ पुनले भने, ‘लकडाउन खुलेपछि संक्रमण धेरै भएका जिल्लाबाट धेरै मानिस काठमाडौं आए। उनीहरु प्रायः फुटपाथ व्यापारीहरु थिए। उनीहरुसँग सामान, फलफूल किन्दा मास्क खोलेरै कुरा गर्छन्। यसले पनि संक्रमणको आगो फैलाउन सहयोग गरेको छ।’

सरकारले काठमाडौंको जनसंख्यालाई ध्यानमा राखेर संक्रमण फैलिएमा कसरी नियन्त्रण गर्ने भन्ने विषयमा उचित रणनीति नबनाउँदा कोरोना समुदायस्तरमा फैलिएको विज्ञहरुको तर्क छ। ‘काठमाडौं उपत्यका भनेको ठूलो जनघनत्व भएको शहर हो। यहाँ कोरोना फैलियो भने नियन्त्रण गर्न गाह्रो हुन्छ भन्ने कुरा पहिलेदेखि नै भन्दै आएको हौँ। तर सरकारले कोरोना नियन्त्रणका लागि कुनै पनि रणनीति अपनाएको पाइएन। यही कमजोरीले काठमाडौंमा समुदायमा कोरोना फैलिन पुगेको हो,’ जनस्वास्थ्य विद् डा. रविन्द्र पाण्डेले भने।

उच्च पदस्थ अधिकारी र समाजका जिम्मेवार मानिसहरु समेत सतर्कता अपनाउनबाट चुकेको डा. कोइरालाको भनाइ छ। ‘सरकारी उच्च पदस्त अधिकारीहरु, पढेलेखेका जिम्मेवार मानिसहरु संक्रमित भएका छन्। यसले उहाँहरु पनि सतर्कता अपनाउने मामिलामा गम्भीर नभएको देखियो,’ उनले भने, ‘अहिले काठमाडौंमा जुन हिसाबले कोरोना फैलिरहेको छ, यसले डरलाग्दो अवस्था ल्याउन सक्छ। परीक्षणको दायरा घटाउने बित्तिकै रोग सर्ने सम्भावना बढ्छ। यसरी हेर्दा सरकारले संक्रमण नियन्त्रण गर्न काम गर्नुपर्छ। जनताले पनि आफैँ बच्ने कोशिश गर्नुपर्छ।’

डा. पुन  सरकार र नागरिक दुवैको कमजोरीका कारण संक्रमण समुदायस्तरमा फैलिएकाले अब नियन्त्रणमा सबै एक हुन आवश्यक गरेको बताउँछन्। ‘काठमाडौंमा कोराना संक्रमितको संख्या बढ्नुको पछाडि सरकार र जनता दुवैको कमजोरी छ। लकडाउन खुलेपछि बाहिरी जिल्लाबाट काठमाडौं भित्रिनेलाई त्यत्ति कडाइका साथ अनुगमन भएन,’ उनी भन्छन्, ‘१४ दिनसम्म होम क्वारेन्टाइनमा बस्न सुझाव दिइएपनि उनीहरु दैनिक ज्याला मजदुरी गरेपछि मात्र खान पाउने भएकाले त्यो सम्भव रहेन। यसरी उनीहरुबाट ग्राहक, ग्राहकबाट घर–घर कोरोना पुग्यो र त्यसकै नतिजा अहिले देखिएको हो।’

स्वास्थ्यकर्मीले कोरोनाबाट बच्ने उपायबारे गरेको अपील पनि पर्याप्त नभएको डा. पुनको भनाइ छ। ‘स्वास्थ्यकर्मीले कोरोनाबाट बच्ने उपाय अपनाउन सबैमा आग्रह गरेपनि प्रभावकारी बन्न सकेको छैन। यसका लागि नेता, मन्त्री लगायत सबै जनाले कारोना नियन्त्रणमा पहल गर्न सक्दो प्रचार गर्नुपर्छ,’ उनी भन्छन्।

डा. पाण्डे भने लकडाउनको समयमा भित्री गल्लीमा कडाइ नहुँदा संक्रमण फैलिएको तर्क गर्छन्। ‘लकडाउनकै समयमा मुख्य सडक र चोकमा मात्रै सरकारले कडाइ गर्‍यो। भित्री गल्ली र बस्तीमा खासै ध्यान दिएन। त्यसले मानिसहरु भेला हुने, मर्निङ वाक जाने लगायतका काम भए। यस्तै पछिल्लो समय सरकारी कार्यालयमा पनि मानिसहरुको चाप निकै बढ्यो। यसमा पनि सरकारले ध्यान दिएन,’ उनले भने, ‘सरकारले सक्रिय संक्रमित २५ हजार नाघे  लकडाउन गर्ने भनेको छ। यसको मतलब २५ हजारलाई मात्रै उपचार गर्ने क्षमता छ भन्ने हो। त्यसैले आफैँ सजग हुनुपर्छ।’

उपत्यकामा मात्रै २९ हजार संक्रमित, १५४ जनाको मृत्यु

काठमाडौं उपत्यकामा हालसम्म २९ हजार १९ जनालाई कोरोना संक्रमण भइसकेको छ।

काठमाडौं जिल्लामा मात्रै २४ हजार ४५ जनालाई संक्रमण भएको छ। यस्तै, भक्तपुरमा २ हजार ४ सय ९० र ललितपुरमा २ हजार २ सय ८४ जनालाई संक्रमण भएको छ। संक्रमितमध्ये  आइतबारसम्म १ सय ५४ जनाको मृत्यु भइसकेको छ।  

काठमाडौंमा सक्रिय संक्रमितको संख्या १० हजार ६ सय ६३ छ। हालसम्म १३ हजार २ सय ७८ जना निको भएका छन् भने १ सय ४ जनाको मृत्यु भएको छ। यस्तै, भक्तपुरमा सक्रिय संक्रमितको संख्या ९ सय ९२  छ। निको हुनेको संख्या १ हजार ४ सय ५६ छ भने २४ जनाको मृत्यु भइसकेको छ।  

ललितपुरमा  सक्रिय संक्रमितको संख्या ७ सय १२  छ।  हालसम्म १ हजार ५ सय ४६ जना निको हुँदा २६ जनाको मृत्यु भएको छ।
 

प्रकाशित मिति: २०:५३ बजे, सोमबार, असोज १९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्