Kathmandu Press

सरकारी छाप दुरुपयोगको मुद्दामा ८३ वर्षीय बृद्ध पक्राउ

बागलुङ, असोज १९ : प्रहरीले सरकारी छाप, कागज र दस्तखतको दुरुपयोग मुद्दामा फरार रहेका बागलुङ नगरपालिका–७ का ८३ वर्षीय इन्द्रनिधि पाध्यालाई पक्राउ गरेको...
सरकारी छाप दुरुपयोगको मुद्दामा ८३ वर्षीय बृद्ध पक्राउ

बागलुङ, असोज १९ : प्रहरीले सरकारी छाप, कागज र दस्तखतको दुरुपयोग मुद्दामा फरार रहेका बागलुङ नगरपालिका–७ का ८३ वर्षीय इन्द्रनिधि पाध्यालाई पक्राउ गरेको छ।

उनलाई २०६४ पुस १३ गते जिल्ला अदालतले ११ महिना २० दिन कैद र रु ५० जरिवानाको फैसला गरेको सुनाएको थियो। उनी अदालतको फरार सूचीमा रहेका थिए।

८३ वर्षीय पाध्याको उमेरका कारण ७५ प्रतिशत कैद स्वतः छुट हुने कानूनी व्यवस्था छ। एक वर्षभन्दा कम कैद सजाय तोकिएका प्रतिवादीलाई शुल्क तिराएर छोड्न सक्ने प्रावधान ल्याइएको भएपनि त्यो अदातलले निर्णय गर्ने विषय भएको जिप्रकाका प्रहरी उपरीक्षक लोकेन्द्र श्रेष्ठले बताए।

पाको उमेरको व्यक्ति भएका कारण पाध्यालाई कोरोनाका बेला धेरै दिन कारागार राख्न असजिलो हुने देखिएको छ।

उनीसहित विभिन्न मुद्दामा दोषी ठहर भई अदालतबाट सजाय तोकिएका आठ जनालाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। पक्राउ पर्नेमा कुटपिट मुद्दाका फरार जैमिनी नगरपालिका–१० का ५३ वर्षीय मनबहादुर श्रीस, सार्वजनिक अपराधमा सोही वडाका ३२ वर्षीय जनक श्रीस र २८ वर्षीय समिर श्रीस छन्।

बागलुङ –९ का २६ वर्षीया किरण विक, वडा नं १० का विनोद शर्मा र बरेङ गाउँपालिका– १ का यमबहादुर थापा पनि सार्वजनिक मुद्दामै पक्राउ परेका हुन्। यस्तै गाली बेइज्जती मुद्दामा बरेङ–३ का ४० वर्षीया हीरा श्रीसलाई पक्राउ गरिएको जिप्रकाका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद रेग्मीले बताए।

फैसला कार्यान्वयनका लागि उनीहरुलाई आइतबार नै जिल्ला अदालतमा उपस्थित गराइएको उनको भनाइ छ। कैद सजाय तोकिएकालाई अदालतको आदेशले कारागार चलान गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेकामध्ये न्यूनतम एक सयदेखि बढीमा सात हजारसम्म जरिवानाको सजाय पाएका छन्। कैद सजाय तोकिएकामा पाध्यासहित जैमिनी नगरपालिका–१० का श्रीस र बरेङ गाउँपालिका–१ का थापा छन्।

श्रीसलाई विसं २०६७ जेठ २७ गते अदालतले दुई वर्षको कैद सजाय सुनाएको थियो। थापाको मुद्दामा अदालतले विसं २०७४ चैत १५ गते रु १०० जरिवानासहित रु ९०० जरिवाना तोकेको थियो।

अदालतले कैद÷जरिवाना तोकेपनि सजाय भुक्तान नगरी घरमै लुकीछिपी बसेका प्रतिवादीलाई पक्राउ गरिएको प्रनाउ रेग्मीले बताए। प्रहरीले पछिल्लो समय ९२ फरार प्रतिवादीलाई पक्राउ गरिसकेको छ। पहिले धरौटीमा छुटेपनि अदालतले अन्तिम फैसला गरेपछि प्रतिवादी सम्पर्कमा नआइ लुकीछिपी बस्ने गरेका छन्। (रासस)

प्रकाशित मिति: १५:५४ बजे, सोमबार, असोज १९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्