के कोरोनाको भ्याक्सिन आउँदैमा अवस्था सामान्य हुन्छ ?
वैज्ञानिकहरूले खोप आएपनि त्यसलाई मानिसकाबीचमा लैजान कम्तिमा एक वर्ष लाग्ने बताएका छन्। यस्तो अवस्थामा कोरोनाका कारण देशहरुले लगाएका प्रतिबन्ध विस्तारै खुकुलो बनाउँदै लैजानुपर्ने हुन्छ।काठमाडौं, असोज १७ : यदि तपाईंलाई कोरोना भाइरसको भ्याक्सिन आएपछि सबै कुरा सामान्य हुन्छ भन्ने लाग्छ। यदि त्यसो हो भने तपाईंको सोचाइ गलत समेत हुन सक्छ। वैज्ञानिकहरुले यस्तो सोचाइबारेमा चेतावनी दिएका छन्।
भ्याक्सिनलाई एक यस्तो उपायका रुपमा हेरिएको छ कि जुन आउने वित्तिकै महामारी समाप्त हुनेछ। तर, रोयल सोसाइटीका अनुसन्धानकर्ताले आफ्नो रिपोर्टमा भनेका छन् कि खोपले के गर्छ र के हुन सक्छ। यो विषयमा हामी तार्किक र व्यवहारिक हुन आवश्यक छ।
वैज्ञानिकहरूले खोप आएपनि त्यसलाई मानिसकाबीचमा लैजान कम्तिमा एक वर्ष लाग्ने बताएका छन्। यस्तो अवस्थामा कोरोनाका कारण देशहरुले लगाएका प्रतिबन्ध विस्तारै खुकुलो बनाउँदै लैजानुपर्ने हुन्छ। भ्याक्सिनबारे भइरहेका प्रयोगबारेमा कुरा गर्दा अहिले विश्वभर करिब दुई सय भ्याक्सिन प्रोजेक्ट चलिरहेका छन्। कुनै प्रारम्भिक चरणमा छन् भने कुनै क्लिनिकल ट्रायलका लागि तयार छन्।
इम्पिरियल कलेज लन्डनका नेश्नल हर्ट एन्ड लङ इन्स्टिच्युटका डा. फियोना कुली भन्छन्, 'भ्याक्सिनका बारेमा थाहा पाउँदा हाम्रो मनमा आशा पलाउँछ कि महामारी समाप्त हुनेछ। तर हामीले यो भुल्न हुँदैन भ्याक्सिनको विकास हुँदा धेरै पटक विफलता ब्यहोर्नुपर्छ।'
ब्रिटेन सरकारका वैज्ञानिक सल्लाहकार समेतको आशा छ कि यो वर्षको अन्तिमसम्म भ्याक्सिन तयार हुनेछ र यसलाई ठूलो परिणाममा परीक्षण गर्न सकिनेछ। तर, रोयल सोसाइटीले चेतावनी दिँदै भनेको छ कि यसको निकै लामो प्रकिया हुनेछ।
इम्पिरियल कलेज लन्डनमा केमिकल इन्जिनियरिङका प्रमुख प्रोफेसर निलय शाह भन्छन्, 'यदि भ्याक्सिन उपलब्ध हुन्छ भने यसको मतलब एक महिनाभित्र जो कोहीलाई लगाउन सकिन्छ भन्ने होइन। यसमा ६ महिना समेत लाग्न सक्छ। नौ महिना वा सायद एक वर्ष पनि। मार्चसम्म जनजीवन सामान्य हुने कुरा अनुमान लगाउनु हतारोबाहेक केही हुँदै होइन।'
जनजीवन सामान्य बनाउने कुरामा धेरै चुनौती रहेको वैज्ञानिकहरुले बताएका छन्। यद्यपी केही तरिका आपनाइएको छ जस्तै कि ठूलो परिमाणमा आरएनए खोप उत्पादन भइरहेको छ, यसरी यो भन्दा पहिला कहिल्यै पनि गरिएको थिएन।
भ्याक्सिन बनाउन आवश्यक पर्ने कच्चा पदार्थको आवश्यकतालाई समेत चुनौतीका रुपमा लिइएको छ। भ्याक्सिनका लागि आवश्यक काँचको सिसा र रेफ्रिजेरेटरको क्षमता समेत एक चुनौती हो। केही भ्याक्सिनलाई माइनस ८० डिग्री सेल्सियसमा समेत राख्नु पर्ने हुन सक्छ।
प्रोफेसर शाहले अनुमान गरेका छन् कि वार्षिकरुपमा सामान्य फ्लूसँग जुध्नका लागि हामी जसरी काम गर्छौं कोरोनासँग जुध्नका लागि त्यो भन्दा दश गुणा तीव्र गतिमा काम गर्न आवश्यक हुन्छ। साथै यसका लागि करिब ३० हजार तालिम प्राप्त जनशक्तिको आवश्यकता समेत पर्नेछ। उनी भन्छन्, 'मलाई यो कुराको चिन्ता छ कि के यस विषयमा गम्भीरतापूर्वक सोचिएको छ वा छैन?'
केही भ्याक्सिनको प्रारम्भिक परीक्षणबाट पत्ता लागेको छ कि त्यसको प्रयोगबाट रोग प्रतिरक्षा प्रतिक्रिया तीव्र भएको छ। तर कुनै अध्ययनबाट अहिलेसम्म बाहिर आउन आएको छैन कि यो पूर्ण सुरक्षित छ र यसले कोरोनाका लक्षण कम हुनेछ।
इन्पिरियल कलेज लन्डनका इम्युनोलोजिका प्रमुख प्रोफेसर चार्ल्स बान्गम भन्छन्, 'हामीलाई थाहा छैन खोप कहिलेसम्म तयार हुन्छ। यो पनि थाहा छैन कि खोप कति प्रभावकारी हुन्छ। न त कहिलेसम्म यो सबैले पाउनेछन् भन्ने नै थाहा छ। यदि यो प्रभावकारी भयो भने पनि तुरुन्तै जनजीवन पहिलेकै जस्तो हुने सम्भावना निकै कम छ।'
यस्तै भ्याक्सिनसँग जोडिएका केही प्रश्न समेत अहिलेसम्म अनुत्तरित छन्।
-के एक शट पर्याप्त हुन्छ वा बुस्टरको आवश्यकता पर्छ? के भ्याक्सिन हरेक वर्ष वा दुई वर्षको अन्तरालमा लिनु पर्नेछ ?
-के भ्याक्सिनले वृद्ध मानिसका लागि पनि प्रभावकारी काम गर्छ ?
-भ्याक्सिन लगाएको कति दिनसम्म त्यसको असर रहिरहन्छ ?
अध्ययनमाथि टिप्पणी गर्दै बाथ युनिभर्सिटीका डा. एन्ड्रयु प्रेस्टन भन्छन्, 'भ्याक्सिनलाई एक यस्तो अचुक उपायका रुपमा चित्रित गरिँदैछ कि भ्याक्सिन आउने बित्तिकै महामारी हट्नेछ। तर भ्याक्सिनको असर देखिन र आमरुपमा भ्याक्सिन उपलब्ध हुन कति समय लाग्छ भन्ने कुरामा विचार गर्नु आवश्यक छ।'
यस्तै, कुनै पनि देशमा कोही जान्छ भने उसले भ्याक्सिन लगाएको छ वा छैन भनेर हेर्न भ्याक्सिन पासपोर्टको आवश्यकताबारेमा समेत चर्चा गर्न आवश्यक रहेको उनको भनाइ छ। भ्याक्सिनबारे थुप्रै प्रश्न रहेको र तीनको जवाफ समेत नभएको उनी बताउँछन्।