इंग्लिस प्रिमियर लिग : एभर्टनले वेष्ट ब्रोमलाई ५–२ ले हरायो
काठमाडौं, असोज ४ : इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले वेष्ट ब्रोमलाई ५–२ ले हराएको छ । खेलको १० औं मिनेटमा गोल गर्दै वेष्ट...
काठमाडौं, असोज ४ : इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले वेष्ट ब्रोमलाई ५–२ ले हराएको छ । खेलको १० औं मिनेटमा गोल गर्दै वेष्ट ब्रोमले अग्रता बनाए पनि एभर्टन खेलमा फर्कन सफल भएको हो । उसका लागि डोमिनिक कालभर्ट लेविनले ह्याट्रिक गरे ।
पहिलो हाफको अन्त्यतिर वेष्ट ब्रोमका खेलाडी काइरन गिब्सले एभर्टनका खेलाडीलाई लडाएपछि रेफ्रीले गिब्सलाई रातो कार्ड दिए । विवाद गर्न आएको भन्दै वेष्टब्रोमका प्रशिक्षक स्लोभेन विलिचले पनि रातो कार्ड खाएका छन् । जितसँगै ६ अंकका साथ एभर्टन शीर्ष स्थानमा रहेको छ भने वेष्ट ब्रोम दुई वटै खेलमा पराजित हुँदै पुछारमा रहेको छ ।
लिड्सले फुलह्यामलाई ४-३ गोल अन्तरले पराजित गर्दै तालिकामा पहिलो तीन अंक लिएको हो । हेल्डर कोस्टाले पाँचौं मिनेटमा गोल गर्दै लिड्सलाई सुरुवाती अग्रता दिलाएका हुन् । एलेक्जेन्डर मिट्रोभीले पेनाल्टीमा गोल गर्दै ३४ औं मिनेटमा फुलह्यामलाई बराबरीमा ल्याएका थिए । मेटस किट्ल्जीले पेनाल्टीमा गोल गर्दा लिड्सले २-१ को अग्रता लिन सफल भयो । पहिलो हाफमा २-१ को अग्रता बनाएको लिड्सले दोस्रो हाफमा २ गोल खाँदा २ गोल थप्दै जित पक्का गरेको थियो ।
पेट्रिक बामफोर्डले ५१ औं मिनेटमा गोल गरेपछि लिड्स ३-१ ले अघि बढेको थियो । हेल्डर कोस्टाले ५७ औं मिनेटमा टिमका लागि चौथो तथा व्यक्तिगत दोस्रो गोल गरेका थिए । यस्तै फुलह्यामका लागि बोबीले ६२ औं मिनेटमा गोल गर्दै अग्रता ४-२ मा ल्याएका थिए । ६७ औं मिनेटमा मिट्रोभीले व्यक्तिगत दोस्रो गोल गर्दै खेल ४-३ मा ल्याए पनि हार भने टार्न सकेनन् ।











