Kathmandu Press

धानमा फड्के किराको प्रकोप, पाक्दै गरेको बाली नष्ट

महेन्द्रनगर, असोज २ : कञ्चनपुरको तीन वटा स्थानीय तहमा धानबालीमा फड्के किराको प्रकोप देखिएको छ।कृषि ज्ञान केन्द्र कञ्चनपुरका अनुसार महाकाली, भीमदत्त र बेदकोट...
धानमा फड्के किराको प्रकोप, पाक्दै गरेको बाली नष्ट

महेन्द्रनगर, असोज २ : कञ्चनपुरको तीन वटा स्थानीय तहमा धानबालीमा फड्के किराको प्रकोप देखिएको छ।

कृषि ज्ञान केन्द्र कञ्चनपुरका अनुसार महाकाली, भीमदत्त र बेदकोट नगरपालिकाका केही वडामा किसानले लगाएका धानबालीमा फड्के किराको प्रकोप देखिएको हो। फड्के किराको प्रकोप देखिएपछि स्थलगत अनुगमनमा निस्केको कृषि ज्ञान केन्द्रका निमित्त कार्यालय प्रमुख रामचन्द्र भट्टले बताए।

उनका अनुसार, महाकाली नगरपालिकामा प्रकोप बढी देखिएको छ। डेढ बिघामा लगाएको धानबाली प्रकोपका कारण क्षति पुगेको पाइएको उनले बताए। 'महाकाली नगरपालिकामा १० हेक्टर धानबाली प्रभावित छ,' उनले भने, 'अहिले किसानलाई प्रकोप नियन्त्रणका लागि विषादी दिने र प्रयोग गर्ने विधिबारे सिकाउने काम भइरहेको छ।'

त्यसैगरी भीमदत्त नगरपालिका–२, १८ र १९ का साथै बेदकोटका केही वडामा यसको प्रकोप देखिएको ज्ञान केन्द्रले जनाएको छ।
'पाक्न लागेको, पसाउन लागेकोलगायत सबै प्रकारका धानमा प्रकोप देखिएको छ,' उनले भने, 'हामीले सबै स्थानीय तहका कृषि शाखाका कर्मचारीलाई प्रकोपबारे अनुगमन गर्न भनेका छौँ।'

किसानले भने पाक्न लागेको धानबालीमा प्रकोप देखिएपछि चिन्तित बनेका छन्। महाकाली नगरपालिकाका विष्णुदत्त भट्टले आफूले लगाएको धानबावलीमा पूर्ण रुपमा प्रकोप देखिएको बताए। 'तीन बिघा खेतमा लगाएको धानबालीमा प्रकोप देखिएपछि परिवार पाल्ने चिन्ता बढेर आयो,' उनले भने, 'यस्तो प्रकोप यहाँ पहिलो पटक देखिएको हो।'

गत सातादेखि धानमा प्रकोप देखिएपछि किसानले नियन्त्रणका लागि विभिन्न प्रयास गरेपनि सार्थक नभएको बताएका छन्। स्थानीय रुद्रलाल सुनारले धानबालीमा फड्के किराको प्रकोप देखिएको बताए। 'प्रकोपले खानै नहुने स्थिति बनेपछि सरकारले पनि हामीलाई क्षतिपूर्ति वा राहत दिनुपर्छ,' उनले भने, 'यस्तो महामारीका बेला झन् अर्को समस्या थपियो।' (रासस)

प्रकाशित मिति: १३:२८ बजे, शुक्रबार, असोज २, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्