ह्विस्की, ब्राण्डी, रम, भोड्का र जिनमा पहिलोपटक सरकारी मापदण्ड
काठमाण्डौं, वैशाख १० : खाद्य प्रविधि तथा गुणनियन्त्रण विभागले मदिरामा नयाँ मापदण्ड तोकेको छ । मंसिरको पहिलो साता तयार गरेको मापदण्डअनुसार, मदिराको उत्....

काठमाण्डौं, वैशाख १० : खाद्य प्रविधि तथा गुणनियन्त्रण विभागले मदिरामा नयाँ मापदण्ड तोकेको छ । मंसिरको पहिलो साता तयार गरेको मापदण्डअनुसार, मदिराको उत्पादनमा कडाइ गरिने भएको छ।
गुणस्तरहीन मदिराको उत्पादन, आयात तथा विक्री वितरणमा बन्देज लगाई सेवनकर्ताको स्वास्थ्यमा प्रतिकूल असर पर्न नदिनका लागि मदिरामा नयाँ मापदण्ड तोकेको विभागले जनाएको छ। मदिरा सेवन गरिसकेपछि सेवनकर्तामा एक–दुई दिनसम्म नशा लाग्ने विभिन्न किसिमका नकारात्मक धातुहरु मिसाइने भएकाले मानव स्वास्थ्यमा नकारात्मक असर पर्ने भएकाले मापदण्ड तोकिएको विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीले बताए।
विभागले ह्विस्की, ब्राण्डी, रम, भोड्का र जिनमा पहिलोपटक मापदण्ड तोकेको हो। यि पाँच प्रकारका मदिरा उत्पादन गर्दा क्लोरल हाइड्रेट, अमोनियम क्लोराइड, डाइजेपाम, पाराडिहाइड, साइकोट्रपिक, क्याफिनलगायत अन्य प्रकारका पदार्थको प्रयोगमा प्रतिबन्ध लगाएको छ। त्यस्तै, मदिरामा प्रयोग हुने इथाइल अल्कोहल ३६ देखि ५० प्रतिशत आयतनको आधारमा २० डिग्री सेल्सियससम्म हुनु पर्ने उल्लेख छ।
विभाकका प्रवक्ता वस्तीका अनुसार मदिरा उत्पादनमा अल्कोहललगायत यसमा प्रयोग हुने तत्वको मात्रा पनि तोकिएको छ। त्यस्तै प्याकेजिङ, लेबलिङ, भण्डारण र ढुवानीको मापदण्ड पनि निर्धारण गरिएको छ।
अब लेभलमा उत्पादक, प्याकरको नाम, ठेगाना, इथाइल अल्कोहलको मात्रा अनिवार्य उल्लेख गर्नुपर्नेछ। त्यस्तै, माल्ट ग्रेन, ब्लेन्डेड र अन्य प्रकारको ह्विस्कीको हकमा अन्न वा स्टार्चजन्य खाद्य पदार्थलाई रसायनिक प्रक्रियाबाट प्रशोधन गरी तयार पार्न सकिने व्यवस्था गरिएको छ।
ह्विस्की उत्पादन गर्दा कम्तिमा एक वर्ष ओकको भाँडामा राखेर भण्डारण गरिएको हुनुपर्ने छ। रम, ह्वाइट रम र फ्लेवर्ड रमको हकमा उखुको रस, उखुको गुड, उखुको सुगर बिटलाई वाष्पिकरण गरी मात्रै उत्पादन गर्न पाइने छ। रममा कैरामलबाहेक अन्य रङ प्रयोग गर्न नपाइने भएको छ।
आलु, अन्न, मोलासेस वा कार्वोहाइड्रेटजन्य पदार्थको फरर्माटेसन गरी डिस्टिलेसन प्रक्रियाबाट प्राप्त हुने न्युट्रल स्प्रिटबाट भोड्का उत्पादन गर्नु पर्ने छ।
त्यस्तै, ब्रान्डीको हकमा तीन प्रकारको मापदण्ड तोकिएको छ। अंगुरको ब्राण्डीमा ताजा, स्वस्थ र पाकेको अंगुरको फर्मान्टेसन जुसबाट मात्रै तयार गर्नुपर्ने मापदण्डमा निर्धारण गरिएको छ।
अहिलेसम्म नेपालमा मदिरा उत्पादन गर्ने विषयमा गुणस्तर निर्धारण, कच्चा पदार्थको अवस्था र गुण, मदिरामा पाइने जिवाणु र मानव स्वास्थ्यलाई गर्न सक्ने हानी नोक्सानीको बारेमा मापदण्ड तोकिएको थिएन।
विभागले मंसिरमै मापदण्ड तयार पारेको भएपनि कार्यान्वयनमा आउन सकेको छैन। अब छिट्टै कार्यान्वयमा ल्याइने विभागका प्रवक्ता वस्तीको भनाइ छ।












-1764753058.png)