लेखनाथ र देवकोटाका छन्द कविता अब पलेँटीमा
काठमाण्डौ, वैशाख १० : पलेँटी साँझ भन्ने बितिकै गीत–संगीतको चस्को पस्छ। तर, यस पटकको पलेँटी साँझ भने बेग्लै हुने भएको छ। अब पलेँटीमा चर्चित नेपाल....

काठमाण्डौ, वैशाख १० : पलेँटी साँझ भन्ने बितिकै गीत–संगीतको चस्को पस्छ। तर, यस पटकको पलेँटी साँझ भने बेग्लै हुने भएको छ। अब पलेँटीमा चर्चित नेपाली कविका छन्दोबद्ध कविता सुन्न पाइने भएको छ, संगीतको लेपनमा।
आयोजक नेपालयले नेपाली छन्द कविताको लयात्मक माधुर्य र लालित्यलाई पलेँटीमा पस्किने भएको छ। यसमा कलाकार भूषिता वशिष्ठले आभासको संगीतमा छन्दोबद्ध नेपाली कविता प्रस्तुत गर्ने भएकी छन्।
साहित्यिक विधा हो, कविता । त्यसमा पनि छन्दोबद्ध कविताको बेग्लै स्थान छ। कुनै बखत छन्दोबद्ध कविता नेपाली साहित्यको मेरुदण्ड नै मानिन्थ्यो । अहिले भने यो विधा सिमित व्यक्तिबीचमै साँधुरिएको छ।
यसलाई नयाँ नयाँ स्वरुपमा बाहिर ल्याउन पलेँटी साँझमा प्रस्तुति गर्न लागिएको जनाएको छ। यस पटकको बसन्त ऋतुको मनमोहक माहोलमा छन्दोबद्ध कविताले सांगीतिक रुप धारण गर्ने भएका छन्। वैशाख २६ देखि २८ सम्म पलेँटीमा प्रस्तुत गरिने भएको नेपालयले जनाएको छ।
पुस्तकका पानामा मात्र सिमित राखेर छन्दको सौन्दर्य खुल्दैन । त्यसैले यो विधालाई भाका दिएर गाउँदै प्रसारित गर्ने परम्परालाई विकसित गर्नुपर्ने आवश्यकतालाई ध्यानमा राखि पलेँटी श्रृंखला तयार पारिएको नेपालयको भनाइ छ।
यस पटकको पलेँटीमा सोमनाथ सिग्ध्याल, लेखनाथ पौडेल, लक्ष्मीप्रसाद देवकोटा, माधवप्रसाद घिमिरेलगायतका सुप्रसिद्ध कविका छन्दोबद्ध रचना वाचन गरिने छन्।
भूषिताले सामाजिक सञ्जालमा छन्दोबद्ध कविता वाचन गरेको देखेपछि पलेँटीमा ल्याउन लागिएको हो। यसको तयारीमा जुटेकी उनले छन्दोबद्ध कविताका भाकाबाट मात्र नभइ यसभित्रको साहित्यिक र दार्शनिक पक्षसँग पनि मोहित भएको बताइन्।
संगीतकार आभासले छन्द कवितासँग सांगीतिक सहकार्य गर्ने अवसर जुरेकोमा खुशी व्यक्त गरेका छन्। ‘छन्दसँगको सामान्य चिनारी थियो। यसपाली भिन्दै अनुभूति भइरहेको छ र यो मेरा लागि नौलो अनुभव हो,’ आभासले भने।
कालिकास्थानस्थित नेपालयको ‘आर’शालामा यो कार्यक्रम हुने छ। सांगीतिक स्वादमा छन्दोबद्ध कविता श्रवण गर्न अग्रिम टिकट बुकिङको व्यवस्था गरिएको नेपालयले जनाएको छ।












