Kathmandu Press

कोरोनाबाट विदेशमा अहिलेसम्म २४३ नेपालीको मृत्यु

काठमाडौं, भदौ २८ : विश्वव्यापी महामारी कोरोना भाइरस सङ्क्रमणबाट अहिलेसम्म नेपालबाहिर विभिन्न १६ देशमा दुई सय ४३ नेपालीको मृत्यु भएको छ।यो साता मात्रै...
कोरोनाबाट विदेशमा अहिलेसम्म २४३ नेपालीको मृत्यु

काठमाडौं, भदौ २८ : विश्वव्यापी महामारी कोरोना भाइरस सङ्क्रमणबाट अहिलेसम्म नेपालबाहिर विभिन्न १६ देशमा दुई सय ४३ नेपालीको मृत्यु भएको छ।

यो साता मात्रै थप ४३ नेपालीको मृत्यु पुष्टि भएको गैरआवासीय नेपाली संघ स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाले बताए। गत मार्च महिनायता साउदी अरबमा मात्रै ४१ जनाको मृत्यु भएको त्यहाँस्थित राजदूतावासलाई उद्धृत गर्दै स्वास्थ्य समितिले जनाएको छ। यो सँगै साउदी अरबमा मात्रै सङ्क्रमणका कारण मृत्यु हुने नेपालीको संख्या ५२ पुगेको साउदी अरबका लागि नेपाली राजदूत डा. महेन्द्रसिंह राजपुतले बताए।

त्यस्तै, यो साता कतारमा पनि थप दुई नेपालीको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ। स्वास्थ्य समितिका अनुसार स्पेन, पोल्यान्ड, भारत, कतार, र साउदी अरबलगायतका मुलुकमा कोरोना संक्रमणदर सामान्यरूपमा वृद्धि भएको छ। अहिलेसम्म विश्वका ४० देशमा रहेका नेपाली कोरोना संक्रमित भएका छन्।

कोरोना भाइरसका कारण हालसम्म बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्यान्ड, जापान, टर्की, नेदरल्यान्ड्स, स्वीडेन, भारत, दक्षिण अफ्रिकालगायत १६ देशमा रहेका नेपालीले ज्यान गुमाएका छन्।

कोरोना सङ्क्रमणका कारण नेपालसहित विश्वभर जम्मा पाँच सय ७९ जनाको निधन भएको छ। यस्तै विश्वभर ९० हजार सात सय ६७ जनामा नेपालीमा सङ्क्रमण देखिएको छ भने तीमध्ये ७१ हजार सात सय १७ जना कोरोनामुक्त भएका छन्। नेपालसहित कोरोना सङ्क्रमणबाट मुक्त हुनेको सङ्ख्या औसत ७८ दशमलव ७ प्रतिशत रहेको छ।  

६१ हजार ७१० को उद्धार 

कोरोना भाइरसको सङ्क्रमणपछि भएको विश्वव्यापी लकडाउनका कारण विदेशमा अलपत्र परेका, आफन्तकोमा गएर उतै रोकिएका र अन्य विविध कारण स्वदेश फर्कन नपाएका नेपालीको उद्धारकार्य जारी छ।

हालसम्म गैरआवासीय नेपाली संघ, नेपाल सरकारका विदेशस्थित दूतावास तथा नियोगहरुको संयुक्त पहलमा ३० देशमा रहेका ६१ हजार सात सय १० नेपालीको उद्धार गरिएको छ।  

 

प्रकाशित मिति: ०९:४० बजे, आइतबार, भदौ २८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्