Kathmandu Press

संसदीय उपसमितिद्वारा कोरोना अस्पतालको अनुगमन

काठमाडौं, भदौ २७ : संघीय संसदको शिक्षा तथा स्वास्थ्य उपसमितिले कोरोना अस्पतालको अनुगमन गरेको छ। संसदीय उपसमितिका संयोजक जीवनराम श्रेष्ठ नेतृत्वको टोलीले चन्द्रागिरि नगरपालिकामा...
संसदीय उपसमितिद्वारा कोरोना अस्पतालको अनुगमन

काठमाडौं, भदौ २७ : संघीय संसदको शिक्षा तथा स्वास्थ्य उपसमितिले कोरोना अस्पतालको अनुगमन गरेको छ। 

संसदीय उपसमितिका संयोजक जीवनराम श्रेष्ठ नेतृत्वको टोलीले चन्द्रागिरि नगरपालिकामा रहेको मनमोहन अस्पताल दहचोक र सशस्त्र प्रहरी अस्पताल सतुङ्गलको अनुगमन गरेको हो। उक्त उपसमितिले कोभिड उपचार केन्द्रको अवस्था, आइसोलेसन सेन्टर, बिरामीको स्वास्थ्य अवस्था, खानपान, सरसफाइबारेमा जानकारी लिएको नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले जानकारी दिए।  

मनमोहनमा १४० र सशस्त्रमा २०० सङ्क्रमितको उपचार भइरहेको नगरपालिकाले जनाएको छ जसमध्ये आठजनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। अनुगमनका क्रममा उपसमितिका संयोजक श्रेष्ठले कोरोना संक्रमित बिरामीको हेरचाह तथा सेवा सरकारले तोकेको मापदण्डअनुसार हुनुपर्ने बताए। उनले कोरोना उपचारमा खटिएका चिकित्सक, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीलाई समेत धन्यवाद दिए। 

चन्द्रागिरीमा शुक्रबारसम्म २२७ जना कोरोना संक्रमित भेटिएकामा ८८ जना डिस्चार्ज भएर घर गइसकेका छन्। यस्तै, ५२ जनाको विभिन्न अस्पतालको आइसोलेसनमा उपचार भइरहेको र ८५ जनाको होम आइसोलेसनमा उपचार भइरहेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख डा सुदा महर्जनले बताइन्। चन्द्रागिरिमा हालसम्म कोरोना संक्रमणबाट दुई जनाको ज्यान गएको छ। रासस

प्रकाशित मिति: १२:२३ बजे, शनिबार, भदौ २७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्