Kathmandu Press

ओलीको ‘गेस्चर’ले प्रचण्डलाई दिलायो कार्यकारी अध्यक्षको आभाष

काठमाडौं, भदौ २६ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र सात महिनादेखि चल्दै आएको पदीय अन्तरसंघर्षको अन्त्य भएको छ।पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र...
ओलीको ‘गेस्चर’ले प्रचण्डलाई दिलायो कार्यकारी अध्यक्षको आभाष

काठमाडौं, भदौ २६ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र सात महिनादेखि चल्दै आएको पदीय अन्तरसंघर्षको अन्त्य भएको छ।

पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच पदीय जिम्मेवारीमा कायम रहेको अन्तरसंघर्ष अन्त्य भएको हो। शुक्रबारको बैठकमा अध्यक्ष ओलीले अर्का अध्यक्ष प्रचण्डको आसन परिवर्तन गराउनुका साथै उनलाई बैठक सञ्चालनको जिम्मेवारी सुम्पिएर कार्यकारी अध्यक्षको सहमति कार्यान्वयनको गेस्चर प्रस्तुत गरेका छन्।  

नेकपाको स्थायी कमिटी बैठकमा फरक किसिमको दृश्य देखियो। सधैँ बैठकको सेन्टरमा बस्ने अध्यक्ष ओलीले यसपटक त्यस स्थानमा प्रचण्डलाई राखिदिए। सात महिनादेखि कार्यकारी अध्यक्षको आभाष गर्न नपाएका प्रचण्डलाई ओलीले स्थान परिवर्तन गराउनुका साथै बैठक सञ्चालनको जिम्मेवारी सुम्पिएर कार्यकारीको अध्यक्षको आभाष दिलाउन खोजेका छन्। 

यसअघिका बैठकमा आफू मध्य भागमा बस्ने ओलीले यसपटक मध्य भागमा प्रचण्डलाई स्थान दिएका थिए। यस्तै, २० मिनेट बैठकमा सहभागी भएर निस्किएका ओलीले बैठकको सञ्चालन गर्ने जिम्मा प्रचण्डलाई दिएका थिए।  ओलीको यो गेस्चरले अध्यक्ष प्रचण्डलाई कार्यकारी अध्यक्षको अनुभूति दिलाएको स्थायी कमिटी सदस्य मातृका यादवले बताए। 

"अध्यक्ष ओलीको गेस्चरले अध्यक्ष प्रचण्डलाई कार्यकारी अध्यक्षको आभाष दिलाएको छ। यसको पालना निरन्तर हुन्छ भन्ने हाम्रो अपेक्षा रहेको छ,'' उनले भने। यसको छनक प्रचण्ड स्वयंले पनि मन्तव्यमार्फत देखाएका छन्। बैठकमा समापन मन्त्व्य राख्दै उनले पार्टीमा रुपान्तरणको संकेत देखिएको बताएका थिए। 

"पार्टी अब रुपान्तरणको दिशामा अघि बढेको छ। विभिन्न उतारचढावबाट शिक्षा लिँदै एकताको रक्षाका लागि पार्टी अघि बढ्नु निकै सकारात्मक छ,' उनले भनेका थिए।

स्थायी कमिटी बैठकले प्रतिनिधिसभाको बाँकी कार्यकालभर सरकारको नेतृत्व  प्रधानमन्त्री ओलीले नै गर्ने र पार्टीमा प्रचण्डलाई कार्यकारी भूमिका प्रदान गर्ने अध्यक्षद्वयको प्रस्तावलाई  समेत पारित गरेको छ।

‘अध्यक्षको कार्यविभाजनको हकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली सरकार केन्द्रित भएर अगाडि बढ्ने र प्रभावकारी ढंगले सफल काम गर्ने निर्णय भएको छ। अर्का अध्यक्ष प्रचण्ड कार्यकारी अधिकारसहित पार्टी काम गर्ने निर्णय भएको हो,’  प्रवक्ता नारायणकाजी श्रेष्ठले भने।

प्रवक्ता श्रेष्ठका अनुसार अब दैनिक कामकाजमा पार्टीले सरकारलाई हस्तक्षेप गर्ने छैन भने राष्ट्रिय महत्वका विषयमा निर्णय गर्दा पार्टीको मार्ग निर्देशनलाई ध्यान दिएर सरकार अघि बढ्नुपर्नेछ।

यस्तै, स्थायी कमिटी सदस्य भीमबहादुर रावलले नेकपाभित्र कायम रहेको पदीय अन्तरसंघर्ष अब अन्त्य भएको बताए।

"विगतकै गल्तीबाट पाठ सिक्दै अहिलेको अवस्थामा नेतृत्व आइपुगेको छ। कार्यदलको सुझावलाई पालना गर्ने प्रतिवद्धता, विधिसम्बद्ध ढंगबाट पार्टीलाई अघि बढाउने संकल्प नेतृत्वले गरेको छ। अब नेतृत्वबीच भएको सहमतिको कार्यान्वयन नेकपामा हुन्छ। विगतका विकृति विसंगतिको अन्त्य गर्दै पार्टी अब सम्पूर्ण रुपमा राष्ट्रिय हितमा केन्द्रित हुन्छ,' उनले भने।
 

प्रकाशित मिति: १९:३३ बजे, शुक्रबार, भदौ २६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्