Kathmandu Press

सकियो नेकपा स्थायी कमिटी बैठक, महाधिवेशन होमिने निर्णय

काठमाडौं, भदौ २६ :  सात महिनाको अन्तरसंघर्षलाई टुंग्याउँदै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकताको महाधिवेशनमा होमिने भएको छ।शुक्रबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले पार्टीको...
सकियो नेकपा स्थायी कमिटी बैठक, महाधिवेशन होमिने निर्णय

काठमाडौं, भदौ २६ :  सात महिनाको अन्तरसंघर्षलाई टुंग्याउँदै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकताको महाधिवेशनमा होमिने भएको छ।

शुक्रबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले पार्टीको केन्द्रिय कमिटी बैठकको निर्णय अनुसार आगामी चैत्र २५ गतेदेखि ३० गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

महाधिवेशनबारेमा छलफल गर्न नेकपाले आगामी कात्तिक १५-१७ गतेसम्म केन्द्रीय कमिटी बैठक बोलाएको छ। 

'पार्टीको अन्तरसंघर्षलाई अन्त्य गर्दै महाधिवेशनमा केन्द्रित हुने प्रस्ताव स्थायी कमिटीले अनुमोदन गरेको छ। त्यसलाई सफल बनाउन आवश्यक तयारी गर्न केन्द्रीय कमिटीको बैठक बोलाइएको छ,' प्रवक्ता श्रेष्ठले भने। 

महाधिवेशन केन्द्रित हुने निर्णय स्थायी कमिटीले अनुमोदन गरेपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीलाई विभाजनको दुर्घटनाबाट बचाउन सफल हुँदै वैचारिक रुपमा रुपान्तरण गर्नका लागि स्थायी कमिटी बैठक सफल भएको समापन मन्तव्यमा बताएका थिए।

'विभिन्न उतारचढावबाट शिक्षा लिँदै एकताको रक्षाको लागि बहस तथा छलफल भएको छ। यो निकै सकारात्मक छ। अब महाधिवेशन सफल बनाउन सबै केन्द्रित हुनुपर्छ,' प्रचण्डको भनाइ उदृत गर्दै प्रवक्ता श्रेष्ठले भने। 

बैठकको सुरुवातमा बोल्दै अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको समस्या र अन्तरविरोध अब सम्पूर्ण रुपमा समाधान भएको बताएका थिए।

'पार्टी एकता अब नयाँ उचाइ र संकल्पका साथ अघि बढेको छ। योसँगै प्रतिक्रियावादीहरुले फुटाउन गरेको प्रयास असफल गराउन पार्टीको कमिटी सफल भएको छ,' ओलीले बैठकमा भनेका थिए। 

स्थायी कमिटी बैठकले पार्टी एकताको रक्षा गर्दै थप सुदृढ गरेर अघि बढाउने, पार्टीलाई विधिमा चलाउन भएका कमीकमजोरीलाई सुधार गर्ने निर्णय गरेको छ।

यस्तै, अध्यक्षद्वयको कार्यविभाजन प्रस्ताव पनि स्थायी कमिटीले पारित गरेको छ। बैठकले भारतसँगको सीमा समस्या वार्तामार्फत समाधान गर्ने, अमेरिकी सहायता परियोजना (एमसीसी)लाई पार्टीको कार्यदलको सुझावका आधारमा संशोधन गर्दै पारित गर्ने र कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि थप प्रभावकारी बन्न सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ।

यस्तै, सरकारलाई पार्टीको मार्गनिर्देशन अनुसार चलाउने निर्णय पनि बैठकले गरेको छ। स्थायी कमिटी बैठकमा नेताहरु झलनाथ खनाल, माधव नेपाल, अष्टलक्ष्मी शाक्य, भीम रावल, नारायकाजी श्रेष्ठ, देव गुरुङ, रघुजी पन्त, भीम आचार्य लगायत १३ जना नेताले धारणा राखेका थिए। 
 

प्रकाशित मिति: १७:०६ बजे, शुक्रबार, भदौ २६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्