म्याग्दीका बाढीपहिरो पीडितलाई साढे ३४ लाख सहयोग
म्याग्दी, भदौ २६ : म्याग्दीका बाढीपहिरो पीडितलाई अमेरिकाको न्यूयोर्कमा बसोबास गर्ने म्याग्देलीले करिब साढे ३४ लाख रुपैयाँ सहयोग गरेका छन्। म्याग्दी समाज न्यूयोर्क अमेरिकाले...
म्याग्दी, भदौ २६ : म्याग्दीका बाढीपहिरो पीडितलाई अमेरिकाको न्यूयोर्कमा बसोबास गर्ने म्याग्देलीले करिब साढे ३४ लाख रुपैयाँ सहयोग गरेका छन्।
म्याग्दी समाज न्यूयोर्क अमेरिकाले त्यहाँ रहेका म्याग्देलीबाट सहयोग संकलन गरी जिल्लाभरका बाढीपहिरो पीडितलाई ३४ लाख ४५ हजार रुपैयाँ सहयोग प्रदान गरेको हो। गत असार २५ गते पश्चिम म्याग्दीको धवलागिरी, मालिका, मङ्गला र अन्नपूर्ण गाउँपालिकामा बाढीपहिरोमा ज्यान गुमाएकाको परिवार, घाइते, सुत्केरी र पूर्णरुपमा विस्थापित भएकालाई म्याग्दी समाज न्यूयोर्कले स्थानीय तहका जनप्रतिनिधिमार्फत उनीहरुको हातहातमै आर्थिक सहयोग हस्तान्तरण गरेका छन्।
स्थानीय तह र प्रहरीले उपलब्ध गराएको विवरणका आधारमा समाजले धवलागिरीमा मृतकका परिवार, घाइते र चार जना सुत्केरीलाई दुई लाख ८० हजार रुपैयाँ तथा पूर्णरुपमा क्षति भएका ४४ घरपरिवारलाई ११ लाख रुपैयाँ सहयोग गरेको छ। त्यस्तै मालिका गाउँपालिकामा मृतकका परिवार र घाइतेलाई रु ७० हजार तथा पूर्णरुपमा क्षति भएका ५३ घरधुरीलाई १३ लाख २५ हजार रुपैयाँ, मङ्गला गाउँपालिकामा १५ घरधुरीलाई ३ लाख ७५ हजार रुपैयाँ, रघुगङ्गा गाउँपालिकामा मृतकका ३ जना परिवारलाई ३० हजार रुपैयाँ तथा उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका दुई जना मृतकका परिवार र एक जना घाइतेलाई ३० हजार रुपैयाँ एंव पूर्ण क्षति भई विस्थापित भएका १९ परिवारलाई दुई लाख ३५ हजार रुपैयाँ सहयोग गरिएको म्याग्दी समाज न्यूयोर्कका प्रतिनिधि पूर्णबहादुर पुनले बताए।
पूर्णरुपमा विस्थापित भएका प्रतिघरधुरीलाई २५ हजार रुपैयाँ, प्रतिमृतक परिवारलाई १० हजार रुपैयाँ, प्रतिघाइते व्यक्तिलाई १० हजार र प्रति सुत्केरी महिलालाई १० हजार रुपैयाँको दरले सहयोग गरिएको उनको भनाइ छ। त्यस्तै एकै परिवारमा दुई जनाले ज्यान गुमाएकालाई १५ हजार रुपैयाँ, तीन जनालाई २० हजार रुपैयाँ र चार जनालाई २५ हजार रुपैयाँ नगद सहयोग गरिएको बताइएको छ।
सहयोग हस्तान्तरण कार्यक्रममा सम्बन्धित गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षलगायत स्थानीय जनप्रतिनिधिको सहभागिता थियो।











